आइसिसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले उपाधि दाबेदार इंग्ल्यान्डविरूद्ध गरेको प्रदर्शनको चर्चा अझै सेलाएको छैन।
खेलपछि समाजिक सञ्जालमा क्रिकेटका हस्तीले नेपालको प्रशंसा गरे। विभिन्न आइपिएल टोलीले प्रोत्साहन गरे।
नेपालको प्रशंसा सामाजिक सञ्जालमा मात्र सीमित छैनन्। भारतको मुम्बईका गल्ली गल्लीमा पनि चर्चा भइरहेको छ।
बाटोमा भेटिएका क्रिकेट समर्थकहरू नेपाली भन्ने थाहा पाएसँगै नेपाली क्रिकेट टोलीको प्रशंसा गर्न थालिहाल्छन्।
यस्तो प्रशंसा अहिले मात्र आएको होइन। सन् २०२४ मा वेस्ट इन्डिजमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भए पनि नेपालको बहादुरीपूर्ण प्रदर्शन भन्दै चर्चा र प्रशंसा भयो।
यी चर्चा र प्रशंसा दुई वर्षसम्म सामाजिक सञ्जालमै सीमित भए।
नेपालले योबीच वेस्ट इन्डिजबाहेक कुनै पनि ठूला टोलीसँग खेल्न पाएन। यसले नेपालको स्तरवृद्धिमा असर गर्यो।
प्रशंसाले सायद नेपाली क्रिकेट थाकिसकेको छ, नेपाली क्रिकेटलाई अब प्रशंसासँगै एक्पोजर पनि चाहिएको छ।
यसपटक पनि नेपालले विश्वकपमा कुनै आइसिसी स्थायी सदस्यसँग वार्म अप खेल्न पाएन। पुरानै एसोसिएट टोली युएई र क्यानडासँग खेल्यो।
यस्तै चिन्ता नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको छ। मंगलबार मुम्बईको वानखेडे रंगशालाको बालासाहेब प्रेस रूममा चिन्ता व्यक्त गर्दै रोहितले ठूला टोलीलाई नेपालको ‘होम ग्राउन्ड’ कीर्तिपुरस्थित त्रिवि मैदानमा स्वागत समेत गरे।
उनले दुई वर्षअघि दक्षिण अफ्रिकासँग खेलपछि पनि यस्तै प्रशंसा आएको तर वेस्ट इन्डिजबाहेक कुनै पनि टोलीसँग खेल्न नपाएको कुरा स्मरण गरे।
उनले भने, ‘दुई वर्षअघिको विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले हारेपछि हामीले वेष्ट इन्डिजसँग एउटा सिरिज मात्र खेल्यौँ। हामीले जस्तो एक्सपोजर र अनुभवको अपेक्षा गरेका थियौं, त्यो पाउन सकेनौँ। राम्रा टोलीहरूसँग खेल्दै आफ्ना क्षमता परीक्षण गर्नु हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। हामीले वर्षमा ६–७ वटा नभए पनि ठूला टोलीसँग कम्तीमा एक वा दुईवटा सिरिज नियमित खेल्न पायौँ भने त्यसले हामीलाई धेरै मद्दत गर्नेछ।’
यसरी रोहितले दुई वर्षअघिको कुरा स्मरण गर्दै ठूला टोलीलाई नेपालमा स्वागत समेत गरे।
उनले भने, ‘तपाईंहरू सबैलाई नेपालमा न्यानो स्वागत छ। कीर्तिपुर मैदानमा हामीसँग खेल्न पक्कै पनि मन पर्नेछ र उनीहरूसँग खेल्ने कुरामा धेरै आशावादी छु।’
उनले आइपिएल टोलीबाट प्रशंसा आउने राम्रो भएको बताए पनि अब आइपिएल टोलीले नेपाली खेलाडीलाई पनि अवसर दिनु पर्ने बताए।
‘आइपिएल टोलीले नेपाली खेलाडी अब लिन्छन् भने आशा छ,’ उनले भने।
आइतबार समूह ‘सी’ को पहिलो खेलमा इंग्ल्यान्डसँग नेपाल चार रनल पराजित भएको थियो। १८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १८० रन जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ब्याटिङ रहेका लोकेश बम चुकेका थिए। इंग्लिस बलर साम करणले उत्कृष्ट बलिङ गर्दा नेपाल पराजित भएको थियो।
यसलाई रोहितले एक्सपोजरको कमी भएको ब्याख्या गरेका हुन्।
रोहितले वानखेडे रंगशालाको बालासाहेब प्रेस रूममा बोलेपछि केही बेरमा वेस्ट इन्डिजका प्रशिक्षक ड्यारेन सामी आएका थिए। उनले सुरुमा आफ्नो टोलीको तयारीको विषयमा बोलेका थिए। अन्तिममा उनलाई नेपालको विषयमा सोधिएको थियो।
नेपालजस्ता टोलीका लागि आइसिसीको स्थायी सदस्यसँगको खेल कतिको महत्वपूर्ण हुन्छ भन्ने प्रश्नमा उनले सुरुमा यो कुरा आफ्नो हातमा नभएको बताए। पछि उनले नेपाल जस्ता टोलीसँग स्थायी सदस्यले खेल्नु पर्ने तर्क अघि सारे।
‘आफ्नो टोलीलाई तयार पार्नु मेरो जिम्मेवारी हो,’ उनले अघि थपे, ‘सम्भव भएसम्म सबै माध्यमबाट क्रिकेटलाई फैलाउनु र विस्तार गर्नु पनि हाम्रै जिम्मेवारी हो भन्ने मलाई लाग्छ। चाहे अस्ट्रेलियाले नेपालसँग खेलोस्, भारतले नेपालसँग खेलोस् वा वेस्ट इन्डिजले नेपालसँग खेलोस् यो खेललाई विश्वभर फैलाउनु र यसको विकासमा मद्दत गर्नु हाम्रो कर्तव्य हो। यदि एसोसिएट टोलीहरूसँग खेल्दा उनीहरूले बढी एक्सपोजर पाउँछन्, आफ्नो स्तर जाँच्ने मौका पाउँछन् र आफूलाई अझ सुधार्न सक्छन् भने, यो समग्र क्रिकेट खेलकै लागि फाइदाजनक कुरा हो।’
वेस्ट इन्डिजसँगै समूहमा रहेको नेपालले दोस्रो खेलमा बिहीबार इटालीसँग खेल्दैछ।
इटाली यो विश्वकपको नवप्रवेशी टोली हो। नेपाली टोलीका कप्तान रोहितले इटाली राम्रो ठूलो भएको बताउँदै कुनै पनि टोलीलाई कम नआँक्ने बताए।
इटालीसँगको खेल नेपालका लागि जारी विश्वकपको सुपर-८ मा पुग्नका लागि महत्वपूर्ण छ। नेपालले इटालीसँग खेलेपछि नेपालले समूहको तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ।
वानखेडेमा आइतबार बिहान सवा एघार बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नका लागि नेपाली टोली उत्साहित छ।
वेस्ट इन्डिजसँग नेपालले गत सेप्टेम्बरमा युएईको शारजाहमा तीन खेलको टी-२० सिरिज खेलेको थियो। सुरुवाती दुई खेल जितेर सिरिज २-१ ले आफ्नो पक्षमा पारेको नेपालको त्यो आइसिसी स्थायी सदस्यसँगको पहिलो जित थियो।
यद्यपि सो सिरिज खेलेका दुई खेलाडी मात्र अहिले वेस्ट इन्डिज टोलीमा छन्। त्यतिबेला युवा खेलाडीलाई मौका दिएको वेस्ट इन्डिजको टोलीमा अकिल हुसेन र जेसन होल्डर मात्र विश्वकप टोलीमा छन्।