भारतमा सम्पन्न मेन्स टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीको यात्रा समूह चरणमै सीमित भएपछि नेपाली क्रिकेटको स्तर उकास्ने विषय पुनः चर्चामा आएको छ। स्कटल्याण्डसँगको अन्तिम खेलपछि टोली स्वदेश फर्कँदै गर्दा विश्वकपमा इङ्ल्याण्डविरूद्ध देखाएको साहसिक प्रदर्शनबाहेक अन्य खेलहरू अपेक्षाअनुसार हुन सकेनन्।
यसबीच, रुप्से स्पोर्टस् म्यानेज्मेन्टले नवलपुरको गैंडाकोटमा अत्याधुनिक क्रिकेट एकेडेमी तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने पहल गर्ने घोषणा गरेको छ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५ बिगाहा जग्गामा इनडोर तथा आउटडोर स्पोर्टस् हलसहित सुविधासम्पन्न क्रिकेट एकेडेमी निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय स्तरको अनुभवको अभावका कारण नेपाली टोली ठूला प्रतियोगितामा अपेक्षित सफलता हासिल गर्न सकिरहेका छैनन्।
नेपालमा प्रतिस्पर्धात्मक अभ्यासका लागि विदेशी खेलाडी भित्र्याउने, वैज्ञानिक प्रशिक्षण प्रणाली विकास गर्ने र आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माण गर्ने कार्यमा कमजोरी देखिएको उनीहरूको निष्कर्ष छ।
हाल क्रिकेटको नियामक निकाय क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन गरिरहेको भए पनि अन्य दीर्घकालीन विकासमुखी कार्यक्रम आवश्यक रहेको रुप्से स्पोर्टस्को धारणा छ। विदेशी खेलाडी भित्र्याएर प्रतियोगिता जित्नुभन्दा स्वदेशी खेलाडी उत्पादन र क्षमता विकासमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ।
प्रस्तावित एकेडेमीमार्फत युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, आधुनिक प्रविधिको प्रयोग र उत्कृष्ट अभ्यास वातावरण उपलब्ध गराइने बताइएको छ। परियोजना क्यानसँगको सहकार्यमा अघि बढाइने र छिट्टै औपचारिक वार्ता तथा छलफल सुरू गरिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
रुप्से स्पोर्टस् म्यानेज्मेन्टले यस परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अघि बढाउँदै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।