नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को औपचारिक मान्यता पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता प्रदान गरेको जानकारी दिएको हो।
एनपिएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुँदैछ।
क्यानले आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउने क्यानको अपेक्षा छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एनपिएललाई औपचारिक मान्यता दिएकोमा आइसिसीप्रति धन्यवाद व्यक्त गरिएको छ।
नेपाली क्रिकेटको विकास र एनपिएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आइसिसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।