आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको यो जितसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। भारतको लागि ओपनर इशान किशनले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ रन र तिलक वर्माले २५ रनको योगदान दिए। पाकिस्तानका लागि बलिङतर्फ साइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए।
१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात निकै खराब रह्यो। भारतीय बलरहरूको घातक बलिङसामु पाकिस्तानका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र पूरै टोली १७.५ ओभरमा मात्र ११४ रनमा अलआउट भयो।
पाकिस्तानका लागि मध्यक्रमका ब्याटर उस्मान खानले सर्वाधिक ४४ रन (३४ बल) बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। टोलीका प्रमुख ब्याटरहरू बाबर आजम (५ रन) र कप्तान सलमान अली आगा (४ रन) सस्तैमा समेटिएका थिए।
भारतलाई जित दिलाउन जसप्रित बुमराहले २ विकेट लिँदा १७ रन दिए। स्पिनतर्फ वरुण चक्रवर्ती र अक्षर पटेलले अत्यन्तै किफायती बलिङ गर्दै समान २–२ विकेट झारे। यस्तै हार्दिक पाण्ड्याले पनि २ विकेट लिए। कुलदीप यादव र तिलक वर्माले पनि १–१ विकेट लिए।
खेलमा विष्फोटक ७७ रन बनाएका भारतीय ओपनर इशान किशन 'प्लेयर अफ द म्याच' घोषित भए।
अब भारतले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। पाकिस्तानले भने अन्तिम खेलमा नामिबियासँग खेल्नेछ। खेल जितेमा पाकिस्तान सुपर ८ मा पुग्नेछ। हार भएको अवस्थामा भने अमेरिकाको सम्भावना हुनेछ।