आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'डी' को महत्वपूर्ण खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५ विकेटले पराजित गरेको छ।
अफगानिस्तानको यो जितले समूहको समिकरणलाई रोमाञ्चक बनाएको छ।
युएईको हारसँगै यो समूहबाट दक्षिण अफ्रिका आधिकारिक रूपमा सुपर-८ मा प्रवेश गरेको छ। दक्षिण अफ्रिका सुपर-८ मा पुग्ने टोली बन्दा युएई भने प्रतियोगिताको अघिल्लो चरणको दौडबाट बाहिरिएको संघारमा पुगेको छ।
दिल्लीको अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो। युएईका लागि सोहैब खानले ४८ बलमा ६ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ६८ रन बनाए पनि अन्य ब्याटरले ठूलो स्कोर बनाउन सकेनन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए।
१६१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाउँदै जित हासिल गर्यो।
ओपनर इब्राहिम जाद्रानले ५३ रनको अर्धशतकीय पारी खेलेर इनिङ्स सम्हालेका थिए। अन्त्यमा अजमतुल्लाह ओमरजाईले विष्फोटक ब्याटिङ गर्दै २० बलमा अविजित ३६ रन जोडेर टोलीलाई जित दिलाए। ओमरजाई खेलको 'प्लेयर अफ द म्याच' घोषित भए।
दक्षिण अफ्रिका सुपर-८ मा पुगिसकेको अवस्थामा अब समूह 'डी' बाट दोस्रो टोलीका रूपमा अघि बढ्न अफगानिस्तान र न्युजिल्यान्डबीच कडा प्रतिस्पर्धा देखिएको छ।
आजको जितले अफगानिस्तानको सम्भावना बलियो बनाएको छ। अफगानिस्तानले अब आफ्नो बाँकी खेलमा क्यानडाको सामना गर्नुपर्नेछ। क्यानडालाई पराजित गरेमा अफगानिस्तानको सुपर-८ पुग्ने दाबेदारी अझ मजबुत हुनेछ।
न्युजिल्यान्डको पनि अझै गणितीय सम्भावना बाँकी छ। उसले आफ्ना आगामी खेलहरूमा फराकिलो जित निकाल्नुपर्नेछ र अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
रोचक कुरा के छ भने, अफगानिस्तान र युएई दुवैले अब समूह चरणमा क्यानडासँग खेल्न बाँकी छ। क्यानडाविरुद्धको खेल अफगानिस्तानका लागि 'गर या मर' को स्थितिमा रहनेछ।
यो जितसँगै अफगानिस्तानले अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ। अब सबैको नजर अफगानिस्तान र क्यानडाबीचको आगामी भिडन्त र न्युजिल्यान्डको प्रदर्शनमा टिकेको छ।