टी-२० विश्वकप २०२६ मा क्यानडाका १९ वर्षीय ब्याटर युवराज शम्राले न्युजिल्यान्डजस्तो बलियो टोलीविरुद्ध मात्र ५८ बलमा शतक प्रहार गर्दै सनसनी मच्चाएका छन्।
विश्वकपको इतिहासमा कुनै पनि 'एसोसिएट' राष्ट्रको खेलाडीले पुरुष टी-२० विश्वकपमा शतक प्रहार गरेको यो पहिलो पटक हो। यस्तै यो शतक टी-२० विश्वकपमा सबैभन्दा कान्छा खेलाडीले प्रहार गरेको शतक हो।
चेन्नइमा न्युजिल्यान्ड विरुद्धको खेलमा शम्राले ३६ बलमा अर्धशतक पूरा गरेका थिए भने ५८ बलमा आफ्नो शतक पूरा गरे। उनको १०२ रनको आक्रामक इनिङ्समा १० चौका र ६ छक्का सामेल थिए।
जब उनले शतक पूरा गरे, उनले आफ्नो हेलमेट फुकालेर आकाशतर्फ हेर्दै खुसी मनाए।
जारी विश्वकपमा उनी सबैभन्दा कान्छा खेलाडी हुन्। न्युजिल्यान्डविरूद्ध अन्तिम ओभरमा आउट हुनुअघि उनले ११० रन जोडे। उनले ६५ बल खेलेर ११ चौका र ६ छक्का प्रहार गरेका थिए। उनको शतकको मद्दतमा क्यानडाले ४ विकेटको क्षतिमा १७३ रन जोडेको छ।
युवराज शम्राको नाम मात्र होइन, उनको खेलको शैली पनि भारतीय दिग्गज युवराज सिंहसँग मिल्दोजुल्दो छ। उनको पूरा नाम युवराज सिंह शम्रा हो। वास्तवमा उनका पिता बलजित शम्राले भारतीय क्रिकेटर युवराज सिंहकै नामबाट आफ्नो छोराको नाम राखेका हुन्। उनी चाहन्थे कि आफ्नो छोरा पनि युवराज सिंहजस्तै ठूलो खेलाडी बनोस्।
शम्रा बायाँ हाते ब्याटर हुन् र उनी पनि युवराज सिंहले जस्तै बललाई कडा प्रहार गर्न रुचाउँछन्। उनले सन् २०१९ र २०२५ मा युवराज सिंहलाई भेट्ने मौका पनि पाएका थिए। युवराज सिंहले टी-२० विश्वकपमा १२ बलमा अर्धशतक बनाएका थिए भने शम्राले पनि गत वर्ष बहामास विरुद्ध १५ बलमै अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए।
यो सफलता पछाडि उनको परिवारको ठूलो संघर्ष छ। उनलाई क्रिकेटमा समय मिलोस् भनेर कक्षा ११ र १२ मा घरमै पढ्ने व्यवस्था (होम स्कुलिङ) गरिएको थियो। छोराको क्रिकेट करियरका लागि उनकी आमाले आफ्नो जागिर नै छोडिन् ताकि उनले छोरालाई अभ्यास र खेलहरूमा सधैं साथ दिन सकून्।
युवराज शम्राको अबको ठूलो सपना इन्डियन प्रिमियर लिग खेल्ने हो। विशेष गरी उनी मुम्बई इन्डियन्सको टोलीमा अटाउन चाहन्छन्। उनी भन्छन्, ‘म विश्वका सबै प्रतिष्ठित लिगहरू खेल्ने पहिलो क्यानेडियन खेलाडी बन्न चाहन्छु। मेरो बुबाको इच्छा म मुम्बई इन्डियन्सबाट खेलेको हेर्नेछ।’