सन् २०२६ को टी-२० विश्वकपमा आयरल्यान्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि जिम्बावे सुपर-८ चरणमा प्रवेश गरेको छ। यो सँगै अस्ट्रेलिया र आयरल्यान्ड दुवै प्रतियोगिताबाट बाहिरिएका छन्।
ओमान र अस्ट्रेलियालाई हराइसकेको जिम्बावेलाई अघिल्लो चरणमा पुग्न मात्र १ अंकको आवश्यकता थियो। पालेकेलेमा वर्षाका कारण खेलको टस समेत हुन नसकी खेल रद्द भएपछि जिम्बावेले उक्त १ अंक प्राप्त गर्यो।
जिम्बावे पहिलोपटक विश्वकपको सुपर-८ मा पुगेको हो। रोचक कुरा त के छ भने यो टोली सन् २०२४ को विश्वकपमा छनोट समेत हुन सकेको थिएन।
सोमबार राति श्रीलंकासँग हारेको अस्ट्रेलियाको लागि जिम्बावेको यो नतिजा घातक बन्यो। अस्ट्रेलिया २ अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आयरल्यान्ड पनि जित निकाल्दै अघि बढ्ने दाउमा थियो, तर वर्षाले उसको सपना पनि समाप्त गरिदियो।
पालेकेले मैदानमा लगातारको झरीका कारण खेल सुरु हुन सकेन। निर्धारित समयभन्दा साढे दुई घण्टापछि साँझ ५:३० बजे खेल आधिकारिक रूपमा रद्द गरियो। मैदानका कर्मचारीहरूले कभर सुकाउने प्रयास गरे तापनि पानी नरोकिँदा खेल सम्भव भएन।
सुपर-८ मा जिम्बावे अब भारत, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेको समूहमा परेको छ। यस समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।