एनआरएनए जर्मनी, नेपाल डार्मस्टाट क्रिकेट क्लब र नेपाल डार्मस्टार फुटबल क्लब र एलसिसी हेसेनको संयुक्त आयोजनामा पहिलो पटक सम्पन्न एनआरएनए क्रिकेट प्रतियोगिता २०२६ को उपाधि नेप्लिज स्टार्स एनआरडब्लूले जितेको छ।
मे ३० र ३१ मा डार्मस्टाटमा आयोजित दुईदिने प्रतियोगितामा जर्मनीभरका १० नेपाली क्रिकेट टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको सुरुवातमा नेपाली क्रिकेटका दिग्गज खेलाडीहरू पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र ललित राजवंशीले भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिएका थिए।
फाइनलमा पहिले ब्याटिङ गरेको एनएसिटी नुर्नबर्गले निर्धारित १२ ओभरमा ११९/८ रन बनायो। जवाफमा एनआरडब्लूले अनिल नगरकोटीको विस्फोटक इनिङ्स (१४ बलमा ४४ रन), चन्दन महतको संयमित ब्याटिङ र विष्णु कुमार ढेंगाको लगातार ३ चौकाको मद्दतले १०.२ ओभरमै १२३/४ रन बनाउँदै १० बल बाँकी छँदै उपाधि कब्जा गर्यो।
प्रतियोगिताको विजेताले ट्रफीसहित २००२ युरो र उपविजेताले १००१ युरो नगद पुरस्कार प्राप्त गरे। व्यक्तिगत पुरस्कारहरू विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो। म्यान अफ दि टुर्नामेन्ट र उत्कृष्ट ब्याटर अंशज उपाध्याय र उत्कृष्ट बलर सागर उप्रेती भए।
सफल आयोजना र व्यवस्थापन कार्यक्रममा पूर्व एनआरएनए अध्यक्ष कुमार पन्तको विशेष उपस्थिति रहेको थियो। हालका एनआरएनए अध्यक्ष लोकमणि ढकालले प्रतियोगिताको सफलताप्रति अत्यन्तै खुशी व्यक्त गरे।
जर्मनीस्थित नेपाली समुदायलाई क्रिकेटमार्फत एकताबद्ध गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितालाई सफल बनाउन उनले आयोजककै रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए। विजेता कप्तान सागर बस्नेतले जित टिमवर्कको नतिजा भएको बताउँदै आगामी दिनमा पनि क्रिकेट गतिविधिलाई निरन्तरता दिने र चाँडै नै बहुप्रतीक्षित चन्द्रसूर्य कपको मिति घोषणा गरिने जानकारी दिए।