श्रीलंका विरुद्धको दुई टेस्ट खेलको सिरिजअघि भारतीय पुरुष क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षक परिवर्तन गरिएको छ। टी दिलीपको ठाउँमा अब ५७ वर्षीय शुभदीप घोष नयाँ फिल्डिङ प्रशिक्षक नियुक्त भएका छन्।
शुभदीपसँग प्रशिक्षणको राम्रो अनुभव छ। यसअघि उनले दुई वर्षसम्म भारतीय महिला टोलीको फिल्डिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनको कार्यकालमा महिला टोलीले २०२२ को एकदिवसीय विश्वकप र २०२३ को टी-२० विश्वकप खेलेको थियो।
यसबाहेक उनले 'इन्डिया ए' टोली र असमको पुरुष टोलीलाई पनि प्रशिक्षण दिइसकेका छन्। खेलाडीका रूपमा उनले असम र रेल्वेबाट १७ वटा प्रथम श्रेणी र १७ वटा 'लिस्ट ए' खेलहरू खेलेका थिए। उनी दायाँ हाते ब्याटर हुन्।
यसअघिका प्रशिक्षक टी दिलीप सन् २०२१ देखि २०२४-२५ को बोर्डर-गावस्कर ट्रफीसम्म टोलीसँग थिए। त्यसपछि सन् २०२५ मा बेलायत भ्रमणका क्रममा उनी एक वर्षका लागि पुनः टोलीमा फर्किएका थिए। तर, सम्झौता सकिएपछि बीसीसीआईले उनको कार्यकाल थप गरेन।
यस्तै, टोलीका सहायक प्रशिक्षक रायन टेन डोस्काटेले पनि इंग्ल्याण्ड विरुद्धको सिरिजअछि आफ्नो पद छाडेका छन्। उनी अब आईपीएल टोली कोलकाता नाइट राइडर्समा 'रणनीति प्रमुख' का रूपमा आबद्ध भएका छन्।
भारतीय टोलीले श्रीलङ्का विरुद्धको पहिलो टेस्ट अगस्ट १५ मा 'गाले' मा खेल्नेछ भने दोस्रो टेस्ट अगस्ट २३ मा कोलम्बोको 'एसएससी' मैदानमा सुरु हुनेछ। टेस्ट सिरिज सुरु हुनुअघि तयारीका लागि भारतीय टोलीले अगस्ट ७ बाट कोलम्बोमा तीन दिने अभ्यास खेल समेत खेल्ने तालिका रहेको छ।