जय शाह दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा पुनः निर्वाचित भएका छन्। ३८ वर्षीय शाहले अब थप दुई वर्ष आईसीसीको नेतृत्व गर्नेछन्।
आईसीसी अध्यक्ष पदका लागि शाह मात्रै उम्मेदवार थिए। गत सप्ताहन्त इन्डोनेसियाको बालीमा बसेको आईसीसी निर्देशकहरूको बैठकमा उनको नाम प्रस्ताव गरिएको थियो। उनी निर्विरोध दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्व सचिवसमेत रहेका शाह भारतीय गृहमन्त्रीका छोरा हुन्। दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनले आईसीसी अध्यक्षको जिम्मेवारी पाउनु आफ्नो लागि सम्मान र जिम्मेवारी दुवै भएको बताएका छन्।
उनले विश्वभर क्रिकेटको हित र विकासका लागि आईसीसीका सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
शाहको दोस्रो कार्यकालमा विश्व क्रिकेटका दुई महत्वपूर्ण प्रतियोगिता तथा आयोजनाहरू हुनेछन्। सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा एकदिवसीय विश्वकप आयोजना हुँदैछ। त्यसैगरी, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटलाई पुनः समावेश गरिँदैछ।
क्रिकेटको ओलम्पिकमा पुनरागमनलाई नयाँ दर्शकसम्म खेल पुर्याउने र नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्ने ठूलो अवसरका रूपमा शाहले व्याख्या गरेका छन्।
उनले क्रिकेटको इतिहासकै महत्वपूर्ण र रोमाञ्चक समय सुरु हुन लागेको उल्लेख गर्दै एलए–२०२८ ओलम्पिक क्रिकेटका लागि विशेष अवसर हुने बताएका छन्।