नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसिसी पुरूष प्रिमियर कपका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको घोषणा गरेको छ।
योसँगै सन्दीपले झण्डै ४ वर्षपछि पुन: नेपाली ओडिआई टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
क्यानले नियमित कप्तान रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेपछि रोहितको कप्तानी यात्रा टुंगिएको छ। सन्दीपले पहिलोपटक सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए।
आइसिसी विश्वकप लिग-२ का पछिल्ला दुई सिरिजमा नेपालको प्रदर्शन खस्किएको थियो भने सन्दीप स्वयंको प्रदर्शन पनि निराशाजनक रहेको थियो।
लगातार तीन खेलमा विकेटविहीन बनेपछि उनलाई टोलीबाट ड्रपसमेत गरिएको थियो। तर, क्यानले पुन: विश्वास व्यक्त गर्दै उनलाई नेतृत्वको जिम्मेवारी दिएको हो।
एसिसी प्रिमियर कपका लागि घोषित टोलीमा व्यापक फेरबदल गरिएको छ।
चोटका कारण बाहिरिएका नन्दन यादवका साथै नियमित खेलाडीहरू कुशल भुर्तेल, सोमपाल कामी र आरिफ शेख टोलीमा परेनन्।
उनीहरूको स्थानमा सन्दीप जोरा, देव खनाल, बसिर अहमद र शेर मल्ललाई टोलीमा समावेश गरिएको छ।