दुई पटकको एकदिवसीय विश्वकप विजेता वेष्ट इन्डिजले सन् २०२७ मा हुने विश्वकपमा स्थान बनाउन पुनः छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमअनुसार, यस वर्षको सेप्टेम्बर ३० सम्मको वरीयतामा शीर्ष ८ मा रहने टोलीहरू सिधै विश्वकपका लागि छनोट हुन्छन्। आयोजक राष्ट्रहरू दक्षिण अफ्रिका र जिम्बावे स्वतः छनोट भइसकेका छन्।
हालै आयरल्यान्डलाई हराउँदै अफगानिस्तानले पनि शीर्ष ८ भित्र रहेर विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। अष्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका, इङ्गल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका र जिम्बावेले विश्वकपमा स्थान पक्का गरिसकेका छन्।
वेष्ट इन्डिज हाल वरीयताको १० औं स्थानमा छ। वरीयता निर्धारण हुने अन्तिम मिति (सेप्टेम्बर ३०) अघि वेष्ट इन्डिजले भारतसँग दुईवटा खेल खेल्न बाँकी छ।
तर, ती दुवै खेल जिते पनि वेष्ट इन्डिजको अंक शीर्ष ८ मा पुग्न पर्याप्त हुने छैन।
यसअघि सन् २०२३ को विश्वकपमा पनि वेष्ट इन्डिज छनोट प्रतियोगिताबाटै बाहिरिएको थियो, जसका कारण उसले २०२५ को च्याम्पियन्स ट्रफी पनि खेल्न पाउने छैन।
आगामी २०२७ को विश्वकपको छनोट प्रक्रिया अलि फरक र चुनौतीपूर्ण बनाइएको छ। अर्को वर्षको फेब्रुअरीमा हुने छनोट प्रतियोगिताको विजेता टोली सिधै विश्वकपको दोस्रो चरणमा पुग्नेछ।
छनोट प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुने टोलीहरूले फेरि 'सुपर सिरिज' नामक अर्को प्रतियोगिता खेल्नुपर्नेछ। यो 'सुपर सिरिज' को विजेता मात्र विश्वकपको दोस्रो चरणमा प्रवेश गर्न पाउनेछ।
यो छनोट प्रतियोगितामा वेष्ट इन्डिज र आयरल्यान्डसँगै 'क्रिकेट विश्वकप लिग-२' का शीर्ष ४ टोली र 'क्वालिफायर प्लेअफ' बाट आउने शीर्ष ४ टोलीहरू गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल पुग्न सक्ला विश्वकप छनोटमा?
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त भइसेको छ।
नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्ड्ससँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा आइपुगेको हो।
यहि कठिन परिस्थितिका बीचमा नेपालले एकदिवसीय टोलीको कप्तान नै परिवर्तन गरेको छ। रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेलाई नेपालको एकदिवसीय कप्तान बनायएको छ।
लिग-२ मा नेपालको निराशाजनक प्रदर्शन सन् २०२४ देखि सुरु भएको यो लिग-२ मा नेपालले हालसम्म ३२ खेल खेलिसकेको छ। जसमा नेपालले मात्र ११ खेलमा जित निकाल्दा १९ खेलमा हार व्यहोरेको छ भने २ खेल नतिजाविहीन बनेका छन्। कुल २४ अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ।
अब नेपालले ओमानमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ। जहाँ नेपाल, ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।
तर, गणितीय हिसाबले नेपालले बाँकी सबै ४ खेल जिते पनि र ओमानले आफ्ना सबै आठ खेल हारे पनि नेपाल शीर्ष चारमा उक्लिने सम्भावना 'असम्भव' जस्तै देखिएको छ। किनभने ओमानको ३१ अंक छ र उसले अझै ८ खेल खेल्न बाँकी छ।
लिग-२ को शीर्ष चारमा पर्न नसके पनि नेपालको विश्वकप छनोट एउटा अन्तिम ढोका अझै खुला छ। त्यो हो— विश्वकप छनोट प्लेअफ।
आइसिसीको नियम अनुसार लिग-२ को अन्त्यमा पुछारमा रहने चार टोली (जसमा नेपाल पर्ने निश्चित प्रायः छ) र च्यालेन्ज लिगबाट आउने उत्कृष्ट चार टोली गरी कुल ८ टोलीबीच प्लेअफ हुनेछ।
यो प्लेअफ प्रतियोगितामा शीर्ष चारभित्र पर्न सकेमा मात्र नेपालको एकदिवसीय मान्यता अर्को चक्रका लागि कायम रहनेछ र नेपालले जिम्बावे वा अन्य देशमा हुने मुख्य विश्वकप छनोट खेल्न पाउनेछ।
प्लेअफमा कस्ता टोली हुनेछन्?
विश्वकप छनोट प्लेअफमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
१. लिग-२ का पुछारका चार टोली: वर्तमान तालिका अनुसार यसमा नेपाल, नामिबिया, क्यानडा र युएई पर्ने सम्भावना बढी छ।
२. च्यालेन्ज लिगका शीर्ष चार टोली: च्यालेन्ज लिगबाट जर्सी, कुवेत, युगान्डा र इटालीले प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेका छन्।
विश्वकप छनोट पुग्ने अन्तिम लक्ष्य यदि नेपालले यो ८ टोली सम्मिलित प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ४ मा स्थान बनाउन सफल भयो भने, नेपाल १० टोली सहभागी हुने 'विश्वकप छनोट' मा पुग्नेछ।
लिग-२ मा सोचेजस्तो प्रदर्शन हुन नसके पनि नेपालका लागि प्लेअफ एउटा यस्तो अवसर हो जहाँ गल्ती सच्याउँदै आफ्नो एकदिवसीय मान्यता जोगाउने लक्ष्यलाई जीवित राख्न सकिन्छ। यसका लागि नेपालले अब ओमान र क्यानडा विरुद्धका बाँकी खेललाई प्लेअफको तयारीको रूपमा लिनु आवश्यक देखिन्छ।