भारतीय क्रिकेटका महान् खेलाडी महेन्द्रसिंह धोनीले आफ्नो १९ वर्ष लामो आइपिएल करिअर अन्त्य गरेका छन्। उनले सन् २०२७ को आईपीएलमा चेन्नई सुपर किंग्स (सीएसके) को मेन्टरको जिम्मेवारी सम्हाल्ने भएका छन्।
चेन्नईले मंगलबार धोनीलाई टोलीको मेन्टर नियुक्त गरिएको घोषणा गरेको हो। डिसेम्बर १६ मा गोवामा हुने आगामी खेलाडी अक्सनअघि खेलाडीलाई रिलिज र रिटेन गर्ने समयसीमा सकिन तीन घण्टा बाँकी रहँदा फ्रेन्चाइजले यो निर्णय सार्वजनिक गरेको हो।
चेन्नईका मालिक एन श्रीनिवासनले धोनीसँगको सम्बन्ध सधैँ विशेष रहने बताएका छन्।
उनले भनेका छन्, ‘एमएस धोनीबिना चेन्नई सुपर किंग्सको कल्पना गर्न सकिँदैन। झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र हरेक परिस्थितिमा सँगै यात्रा गरेका छौँ। हाम्रो सम्बन्ध बलियो हुनुको मुख्य कारण एकअर्काको नियतमाथि कहिल्यै शंका नगर्नु हो। यही विश्वासले हाम्रो यात्रा सम्भव बनाएको हो।’
श्रीनिवासनले सन् २००८ मा आफूले धोनीलाई चेन्नईको टोलीमा आबद्ध गराउन जोड दिएको पनि स्मरण गरेका छन्। उनले धोनीलाई टोलीमा भित्र्याउने निर्णय आफ्नो सबैभन्दा राम्रो निर्णयमध्ये एक भएको बताएका छन्।
‘धोनीले टोलीका लागि हासिल गरेका उपलब्धिका कारण मात्रै होइन, उनी कस्तो व्यक्ति हुन् भन्ने कारणले पनि त्यो निर्णय विशेष बन्यो। धोनी सधैँ चेन्नईको पहिचानको हिस्सा रहनेछन्। चेन्नई उनको घर हो,’ उनले भनेका छन्।
४५ वर्षीय धोनीले सन् २०२७ को आईपीएलमा चेन्नईको परिमार्जित प्रशिक्षक टोलीसँग काम गर्नेछन्। टोलीको मुख्य प्रशिक्षकमा जाहिर खान छन्। त्यस्तै सहायक प्रशिक्षकमा एल्बी मोर्केल, ग्यारेथ बेट्टी र श्रीधरन श्रीराम रहनेछन्। मोहित शर्मा बलिङ प्रशिक्षक तथा जेम्स फोस्टर फिल्डिङ प्रशिक्षकको जिम्मेवारीमा छन्।
लगातार तीन सिजन प्लेअफमा पुग्न नसकेपछि चेन्नईले आगामी सिजनका लागि आफ्नो प्रशिक्षक टोलीमा व्यापक परिवर्तन गरेको हो।
धोनीलाई सन् २००८ मा आईपीएलको पहिलो खेलाडी अक्सनबाटै चेन्नईले अनुबन्ध गरेको थियो। त्यसयता उनी लिगकै सबैभन्दा सफल खेलाडीमध्ये एक बने।
धोनीको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएल उपाधि जितेको थियो। चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको हो। त्यस्तै, उनको कप्तानीमा टोलीले सन् २०१० र २०१४ मा गरी दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधिसमेत जितेको थियो।
चेन्नई लगातार दुई पटक आईपीएल उपाधि जित्ने पहिलो टोली बनेको थियो। त्यस्तै, एउटै वर्ष आईपीएल र च्याम्पियन्स लिग दुवैको उपाधि जित्ने उपलब्धि पनि चेन्नईकै नाममा छ।
धोनीले आईपीएलका पहिलो १९ सिजनमध्ये १७ सिजन चेन्नईबाट खेले। सन् २०१६ र २०१७ मा चेन्नईमाथि प्रतिबन्ध लागेपछि उनले राइजिङ पुने सुपरजायन्टबाट खेलेका थिए।
धोनीले आफ्नो आईपीएल करिअर ५ हजार ४३९ रनसहित अन्त्य गरेका छन्। उनले ३८.३० को औसत र १३७.४५ को स्ट्राइक रेटमा रन बनाएका हुन्।