काठमाडौं महानगरपालिकाले गत सिजनको सहिद स्मारक ए डिभिजन लिग खेलेका काठमाडौंका क्लबलाई १०-१० लाख रुपैयाँ प्रदान गरेको छ।
महानगरले ६ वटा क्लबलाई आर्थिक सहयोग गरेको छ। आर्थिक सहयोग पाउनेमा लिग च्याम्पियन मच्छिन्द्र क्लब, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युवा क्लब छन्।
सरस्वती गत सिजन बी डिभिजनमा घटुवा भएको क्लब हो। महानगरले अघिल्लो वर्ष पाउने पुरस्कार प्रदान गरिएको बताएको छ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम प्रदान गरेका थिए।
'हामीले क्लबलाई सहयोग होस् भनेर रकम प्रदान गरेका हदं। नेपाली फुटबलको विकासका लागि हामीले योगदान दिन खोजेका हौं,' शाक्यले भने।
महानगरले गत वर्षदेखि क्लबहरुलाई आर्थिक सहयोग गर्न थालेको हो। महानगरले बी डिभिजन र सी डिभिजन क्लबलाई पनि आर्थिक सहयोग गर्ने गरेको छ।
गत वर्ष बी डिभिजन खेल्ने क्लबलाई ३ लाख र सी डिभिजनका क्लबलाई २ लाख रकम प्रदान गरिएको थियो।