स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेसी क्लबको प्रशिक्षणका फर्किएका छन्। यहि सिजनदेखि क्लब छाड्न चाहेका मेसी अन्य खेलाडी भन्दा एक साता ढिलो प्रिसिजन प्रशिक्षणमा फर्किएका हुन्।
३३ वर्षी मेसीले अघिल्लो सातादेखि सुरु गरिएको प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेका थिए। मेसीले आफूले क्लब छाड्न चाहेको भन्दै प्रशिक्षणमा गएका थिएनन्।
तर क्लबले ७ सय मिलियन युरोको रिलिज क्लजमा कुनै हेरफेर नगरेपछि मेसीले गत शुक्रबार आफू क्लबमै बस्ने बताएका थिए।
मेसीले बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने तथा आफूलाई मुद्दा लड्ने चाहना नभएकाले क्लबमै बस्ने बताएका थिए।
बार्सिलोनाको प्रशिक्षकमा अर्जेन्टिनाका रोनाल्ड कोम्यान नियुक्त भएपछि मेसी पहिलो पटक प्रशिक्षणमा सहभागी भएका हुन्।
सिजनको ला लिगामा बार्सिलोनाले सेप्टेम्बर अन्तिम साता आफ्नो पहिलो खेल खेल्नेछ। उसले पहिलो खेल २७ सेप्टेम्बरमा भिल्लारियलविरुद्ध खेल्ने खेल तालिका छ।
सिजनअघि सुरु गरिएको अभ्यसामा मेसीले एक्लै प्रशिक्षण गरेका थिए। यसअघि काउटिन्होले पनि एक्लै अभ्यास गरेका थिए। दुई खेलाडीबाहेक अरु खेलाडीले भने टिममा अभ्यास गरिरहेका छन्।
क्लब छाड्न चाहेका कारण मेसीले गत ३० अगस्टमा गरिएको कोरोना भाइरसको परीक्षण गर्न पनि अस्वीकार गरका थिए। मेसीले क्लबले रिलिज क्लज हटाउने विश्वास गर्दै आफू कुनै शर्तबिना अरु क्लबमा आबद्ध हुन सक्ने विश्वास गरेका थिए।
तर बार्सिलोना र ला लिगा दुवैले उक्त क्लज हटाउन अस्वीकार गरेका थिए।
मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ।
मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १६ वर्ष पूरा भइसकेको छ।
मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६३४ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३४ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्।
ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले ४४४ लिग गोल गरिसकेका छन्। मेसीले सन् २०१२ को एकै सिजनमा क्लबका लागि सर्वाधिक ७९ गोल गरेर रेकर्ड बनाएका थिए।