इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लगातार चार खेलमा जित निकालेको छ।
भिल्लाले आइतबार राति भएको खेलमा लेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै लिगमा लगातार चार खेलमा जित निकालेको हो।
भिल्लाको जितमा बाक्लीले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
यता टोटेनहमलाई वेस्ट ह्याम युनाइटेडले ३-३ गोलको बराबरीमा रोकेको छ।
टोटेनहमले पहिलो हाफमा ३-० को अग्रता लिएर पनि जोगाउन नसक्दा तीन अंक जोड्न चुकेको हो।
टोटेनहमका लागि ह्युङ मिन सनले पहिलो मिनेटमै गोल गरेका थिए। यस्तै ह्यारी केनले ८ र १६ मिनेटमा गरी दुई गोल गर्दा टोटेनहम सुरुवातमै उत्कृष्ट लयमा देखियो।
दोस्रो हाफको अन्तिम ८ मिनेट बाँकी छदा वेस्ट ह्यामका लागि बलबेउनाले पहिलो गोल गरे। ८५ मिनेटमा टोटेनहमका डि सान्चेजले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो।
दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा वेस्ट ह्यामका लान्जिनीले बराबरी गोल गर्दै आफ्नो टिमलाई हारबाट जोगाए।
लिगमा त्यसअघि भएका सेफिल्ड युनाइटेड र फुलहम तथा ब्राइटन र क्रिस्टल प्यालेसबीचको खेल समान १-१ गोलको बराबरीमा सकिएका थिए।
प्रिमियर लिगको अंक तालिकामा एभर्टन ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ। आइतबार हात पारेको जितसँगै दोस्रो स्थानमा उक्लिएको एस्टन भिल्लाको ४ खेलबाट १२ अंक छ। ५ खेलबाट १० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा झरेको छ। चौथो स्थानको लेस्टरले ९ अंक जोडेको छ।