स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ। शनिबार भएको खेलमा बार्सिलोनालाई एट्लेटिको म्याड्रिडले १-० गोलले पराजित गरेको हो।
एट्लेटिको म्याड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
जारी सिजनमा बार्सिलोनाको यो ८ खेल मध्ये तेस्रो हार हो। दुई खेलमा बराबरीमा रोकिएको बार्सिलोनाले ३ खेलमा मात्र जित निकालेको छ।
यता रियल म्याड्रिडलाई भिल्लारियलले १-१ गोलको बराबरीमा रोकेको छ।
खेलको दोस्रो मिनेटमा मारियानोले गोल गरेर रियललाई अग्रता दिलाएका थिए। भिल्लारियलका मोरेनोले ७६ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काउन सफल भए।
ला लिगाको अंक तालिकामा बार्सिलोनालाई पराजित गरेको एट्लेटिकोले शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ। सोसिडाडको ९ खेलबाट २० अंक छ। ८ खेल खेलेको एट्लेटिकोको २० अंक छ।
भिल्लारियल १० खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। ९ खेलबाट १७ अंक बटुलेको रियल म्याड्रिड चौथो स्थानमा छ।
बार्सिलोना ८ खेलबाट ११ अंक जोडेर दशौं स्थानमा छ।