इन्टर मिलानले 'इटालियन सिरि ए' को उपाधि जितेको छ। आइतबार दोस्रो स्थानको एटलान्टा बराबरीमा रोकिएसँगै इन्टर मिलानले चार खेल बाँकी छदा लिगको उपाधि जितेको हो।
चार चरणको खेल बाँकी रहदा इन्टरले दोस्रो स्थानको एटलान्टासँग १३ अंकको अग्रता लिएको छ।
इन्टर च्याम्पियन बनेसँगै युभेन्ट्सको च्याम्पियन यात्रा पनि रोकिएको छ। उसले पछिल्ला नौं सिजन लिगको उपाधि जितेको थियो।
इन्टरले पछिल्लो पटक सन् २०१० मा लिगको उपाधि जितेको थियो। सो सिजन इन्टरले युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो।
प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेले चौथो पटक इटालियन लिग जितेका हुन्। उनले यसअघि सन् २०११ देखि २०१४ सम्म युभेन्ट्सबाट लिगको उपाधि जितेका थिए।
लिगमा चार चरणको खेल बाँकी छदा इन्टरको ८२ अंक छ भने दोस्रो स्थानको एटलान्टा, तेस्रो स्थानको युभेन्ट्स र चौथो स्थानको एसी मिलानको समान ६९-६९ अंक छ।