कप्तान सुनील क्षेत्रीले दुई गोल गरेपछि भारतले बंगलादेशलाई पराजित गरेको छ।
सोमबार दोहामा भएको फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको समूह 'ई' को खेलमा भारतले बंगलादेशलाई २-० गोलले पराजित गरेको हो।
भारतका लागि कप्तान सुनीलले खेलको ७९ मिनेटमा पहिलो गोल गरेका थिए। उनले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमको अग्रता दोब्बर पारे।
छनोटमा भारतले पहिलो जित हात पारेको हो। यसअघि भारतले खेलेका ६ मध्ये ३ खेलमा हार र ३ खेलमा बराबरी खेलेको थियो।
भारत समूहमा ७ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। जितसँगै भारतको एसियन कपमा छनोट हुने सम्भावना प्रवल भएको छ।
शीर्ष स्थानको कतारको ७ खेलबाट १९ अंक छ। दोस्रो स्थानको ओमानको ५ खेलबाट १२ अंक छ।
चौथो स्थानको अफगानिस्तानको ६ खेलबाट ५ अंक छ। पुछारको बंगलादेशको २ अंक छ।