फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा अस्ट्रेलियाले चाइनिज ताइपेईलाई पराजित गरेको छ।
सोमबार राति कुवेत सिटीमा भएको समूह 'बी' को खेलमा अस्ट्रेलियाले ५-१ गोलको जित निकालेको हो।
लगातार छैटौं जितसँगै अस्ट्रेलिया शीर्ष स्थानमा बलियो भएको छ। अस्ट्रेलियाले समूहको अन्तिम दुई खेलअघि १८ अंक जोडेको छ।
अस्ट्रेलियाले अब नेपालसँग आगामी जेठ २८ गते खेल्नेछ। अन्तिम खेलमा उसले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।
जोर्डन अंक तालिकाको दोस्रो स्थानमा छ। सोमबार नेपालविरुद्ध जित हात पारेको जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो।
कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।
समूहको शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ। दोस्रो हुने टिमको पनि तेस्रो चरणको सम्भावना हुनेछ।