अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ फिफा वरीयता सार्वजनिक गरेको छ। 
बिहीबार सार्वजनिक भएको वरीयतामा नेपाल यथा स्थानमै छ। नेपाल १७५औं स्थानमा छ। 
सार्क देशमा नेपालभन्दा माथि भारत १२४औं र माल्दिभ्स १६३औं स्थानमा छन्। नेपालभन्दा तल भुटान १८२औं, बंगलादेश १८४औं, पाकिस्तान १९७औं र श्रीलंका २०५औं स्थानमा छन्। 
विश्व वरियतामा विश्व विजेता तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमै छ। दोस्रो स्थानमा फ्रान्स छ भने युरो कप जितेको स्पेन पाँच स्थान माथि उक्लदै तेस्रो स्थानमा पुगेको छ। 
युरो कपको फाइनलमा पराजित भएको इंग्ल्यान्ड एक स्थान माथि उक्लदै चौथो स्थानमा छ। 
पाँचौं स्थानमा ब्राजिल र छैटौं स्थानमा बेल्जियम छन्। ब्राजिल एक स्थान  र बेल्जियम तीन स्थान तल झरेका छन्। 
नेदरल्यान्ड्स सातौं र दुई स्थान तल झरेको पोर्चुगल आठौं स्थानमा छन्। तीन स्थान माथि उक्लिएको कोपा अमेरिका उपविजेता कोलम्बिया नवौं स्थानमा रहदा इटाली दशौं स्थानमा छ।