अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवादले बुधबार नयाँ मोड लिएको छ। फरार प्रतिवादीका रूपमा मुद्दा अघि बढाइएका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई आजै अदालतमा उपस्थित भएका छन् भने वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको समूहले सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेको छ।
अध्यक्ष र महासचिव अदालतमा उपस्थित भएको र वरिष्ठ उपाध्यक्षले मुख्यालयको ताला खोल्दै कार्यसमिति बैठक बोलाउने तयारी गरेपछि एन्फाभित्रको शक्ति संघर्ष थप चर्किएको छ।
वरिष्ठ उपाध्यक्ष खड्काले कार्यसमितिका एक तिहाइभन्दा बढी सदस्यको लिखित मागपछि पनि अध्यक्ष नेम्बाङले बैठक नबोलाएको भन्दै मुख्यालयको ताला खोलेर बैठक बोलाउने प्रक्रिया अघि बढाएका हुन्।
एन्फाको विधानको धारा ३१(२) अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था छ। खड्कासहित ११ जना सदस्यले बैठकको माग गरेका थिए। तर, अध्यक्षले २१ दिनसम्म बैठक नबोलाएपछि उनीहरू आफैँ अघि बढेका हुन्।
खड्काले कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। बैठकमार्फत एन्फाको वर्तमान संकट समाधानका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्ने तयारी छ।
यसैबीच, खेल मिलेमतो, आर्थिक अनियमितता तथा ठगीसम्बन्धी मुद्दामा प्रतिवादी रहेका अध्यक्ष नेम्बाङ र महासचिव राई आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्।
यसअघि जिल्ला अदालतले दुवै जनालाई पक्राउ गर्न आदेश दिएको थियो। उनीहरूविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गराएको थियो।
आज अदालतमा उनीहरूको बयान तथा थुनछेकसम्बन्धी प्रक्रिया अघि बढ्ने जनाइएको छ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई गत जुन २४ देखि निलम्बन गरेको छ। त्यसयता नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र एन्फाको नियमित सञ्चालन प्रभावित बनेको छ।
एकातिर अध्यक्ष र महासचिवविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ भने अर्कोतिर कार्यसमितिभित्रै बैठक आह्वान र संस्थाको सञ्चालनलाई लिएर विवाद देखिएको छ। यस्तो अवस्थामा वरिष्ठ उपाध्यक्ष खड्काले मुख्यालयको ताला खोलेर बैठक बोलाउने कदम चाल्नुलाई अध्यक्ष नेम्बाङमाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेरिएको छ।
-1793176416.jpg)