अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका छन्। खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका उनीहरूलाई ललितपुर जिल्ला अदालतले बुधबार धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश हरिसिंह धामीको इजलासले नेम्बाङ र राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुर जिल्ला अदालतका तहसिलदार हरि बहादुर खत्रीले बताए।
यसअघि मुद्दा दर्ता हुँदा दुवै जना फरार प्रतिवादीका रूपमा थिए। उनीहरू बुधबार अदालतमा उपस्थित भएर बयान दिएका थिए।
यसअघि सोही मुद्दामा एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डे पनि धरौटीमा रिहा भएका थिए।
नेम्बाङ र राई अदालतमा उपस्थित भएको दिन नै एन्फाभित्रको शक्ति संघर्षले पनि नयाँ मोड लिएको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको समूहले सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेर कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
कार्यसमितिका एक तिहाइभन्दा बढी सदस्यले लिखित माग गर्दा पनि अध्यक्ष नेम्बाङले बैठक नबोलाएको भन्दै खड्कासहित ११ जना सदस्यले बैठकको माग गरेका थिए। एन्फाको विधानको धारा ३१(२) अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा बैठक बोलाउनुपर्ने व्यवस्था छ। अध्यक्षले २१ दिनसम्म बैठक नबोलाएपछि आफूहरूले बैठक बोलाउने प्रक्रिया अघि बढाएको खड्का पक्षको भनाइ छ।
कात्तिक १३ गतेका लागि बोलाइएको बैठकमा एन्फाको वर्तमान संकट समाधान गर्न सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँग समन्वय तथा सहजीकरणका लागि पहल गर्ने तयारी छ।
नेम्बाङ र राईविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गराएको थियो। यसअघि अदालतले उनीहरूलाई पक्राउ गर्न आदेश दिएको थियो।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ। निलम्बनपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता प्रभावित हुनुका साथै एन्फाको नियमित सञ्चालनमा समेत समस्या देखिएको छ।
अध्यक्ष र महासचिवविरुद्ध अदालतमा मुद्दा चलिरहेको र कार्यसमितिभित्रै बैठक आह्वान तथा संस्थाको सञ्चालनलाई लिएर विवाद बढिरहेका बेला पछिल्ला घटनाक्रमले एन्फाको संकटलाई थप पेचिलो बनाएको छ।