शीर्ष स्थानमा रहेको आर्सनलको हारको फाइदा उठाउँदै म्यानचेस्टर सिटीले चेल्सीलाई उसैको मैदानमा हराएको छ। यस जितसँगै प्रिमियर लिगको उपाधि होड अब झनै रोचक मोडमा पुगेको छ।
शनिबार आर्सनल घरेलु मैदानमै बर्नमाउथसँग स्तब्ध भएको थियो। त्यसको भोलिपल्टै चेल्सीलाई ३-० ले हराउँदै दोस्रो स्थानको सिटीले आर्सनलसँगको दूरी ६ अङ्कमा झारेको छ। सिटीले आर्सनलभन्दा एक खेल कम खेलेको हुनाले उसलाई थप फाइदा छ।
स्ट्यामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफमा सिटीले सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन। तर, दोस्रो हाफमा सिटीले आक्रामक खेल देखायो। ५१औँ मिनेटमा रयान चेर्कीको क्रसमा निको ओ'रेलीले हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसको ६ मिनेटमै चेर्कीकै पासमा पूर्व चेल्सी खेलाडी मार्क गुएहीले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर जेरेमी डोकुले तेस्रो गोल गर्दै सिटीको जित पक्का गरे।
यस खेलमा २२ वर्षीय युवा खेलाडी रयान चेर्की चम्किए। उनले सिजनको १०औँ 'असिस्ट' (गोलको अवसर सिर्जना) पूरा गरे। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको टोली अप्रिल महिनामा सधैँ बलियो देखिन्छ। सिटीले यो महिना खेलेका पछिल्ला ३२ खेलमध्ये २९ मा जित हात पारेको छ।
उता चेल्सीको अवस्था भने नाजुक बन्दै गएको छ। प्रिमियर लिगमा यो उसको लगातार तेस्रो हार हो। पछिल्ला ५ खेलमा ४ हार बेहोरेपछि चेल्सी छैटौँ स्थानमा खुम्चिएको छ। टोलीभित्रको आन्तरिक विवाद, प्रशिक्षक परिवर्तन र खेलाडीहरूको निराशाजनक प्रदर्शनले चेल्सी समस्यामा परेको देखिन्छ।
आउने आइतबार सिटी र आर्सनलबीच म्यानचेस्टरमा ठूलो खेल हुँदैछ। सो खेलको नतिजाले यस सिजनको लिग उपाधि कसले जित्छ भन्ने कुरामा ठूलो असर पार्नेछ। सिटीका समर्थकहरूले अहिले नै आर्सनललाई चेतावनी दिँदै नारा लगाउन थालिसकेका छन्— ‘के तिमीहरूले हामीलाई हेरिरहेका छौ, आर्सनल?’