युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस क्लबद्वयको भिडन्तमा एट्लेटिको मड्रिड अन्तिम चारमा पुगेको छ। बार्सिलोनाविरूद्ध समग्रमा ३-२ ले जित निकाल्दै एट्लेटिको अन्तिम चारमा पुगेको हो।
दोस्रो लेगको खेलमा बार्सिलोनासँग २-१ ले पराजित भए पनि एट्लेटिको मड्रिडले पहिलो लेगको अग्रताका कारण सेमिफाइनलमा स्थान पक्का गरेको छ।
खेलको सुरुवातमै बार्सिलोनाले उत्कृष्ट पुनरागमनको संकेत दियो। ५ औं मिनेटमा लामिन यामल र २४ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै समग्र स्कोर २-२ को बराबरीमा ल्याए।
३१ औं मिनेटमा एट्लेटिकोका एडमोला लुकम्यानले गोल गरे। यही गोल नै एथ्लेटिकोलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो।
बार्सिलोनाका फेरान टोरेसले दोस्रो हाफमा अर्को गोल गरेका थिए, तर 'भिएआर' ले त्यसलाई अफसाइड देखाइदियो। खेलको ७९ औं मिनेटमा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित भयो।
एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले १४ वर्षपछि पनि आफ्नो टोली युरोपका शीर्ष चार टोलीभित्र पर्न सफल भएकोमा गर्व व्यक्त गरे। अब एथ्लेटिकोले सेमिफाइनलमा आर्सनल वा स्पोर्टिङ सीपीमध्ये एकसँग खेल्नेछ।
अर्को खेलमा फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब लिभरपुललाई समग्रमा ४-० ले हरायो।
उस्मान डेम्बेलेको सानदार प्रदर्शनको मद्दतले पिएसजीले लिभरपुललाई दोस्रो लेगमा २-० (समग्रमा ४-०) ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो।
पहिलो लेगमा २-० ले पछि परेको लिभरपुलले घरेलु मैदानमा गोल गर्ने धेरै प्रयास गरे पनि सफल हुन सकेन। पिएसजीका लागि उस्मान डेम्बेलेले ७२ औं मिनेट र खेलको अन्तिम समयमा दुई गोल गरे।
लिभरपुलले दुई लेग गरी जम्मा १८० मिनेट फुटबल खेल्दा पिएसजी विरुद्ध एक गोल पनि गर्न सकेन। खेलको ६५ औं मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो, तर भिएआरले त्यसलाई उल्टाइदियो।
यो हारसँगै लिभरपुल यस सिजन कुनै पनि मुख्य उपाधि नजिती खाली हात हुने भएको छ। पिएसजीले अब सेमिफाइनलमा बायर्न म्युनिख वा रियल मड्रिडको सामना गर्नेछ।