विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
मंगलबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्टस एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो।
पहिलोपटक विराट गोल्डकप खेलिरहेको घरेलु टोली सम्राटले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको थियो। सम्राटले अब फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिता अन्तर्गत बुधबार राति पहिलो सेमिफाइनल खेल हुनेछ। जसमा दुई पूर्व विजेता टोलीहरू विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता ५ वैशाखसम्म चल्नेछ। विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। भारत सहित आठ टोलीको सहभागिता रहेको यस प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, झापा–११, सम्राट स्पोर्टिङ क्लब, आर्मी, पुलिस र एपीएफ टोली सहभागी थिए।