विराटनगरमा जारी 'नोबेल विराट गोल्डकप' को ३८औं संस्करणमा पूर्वविजेता झापा ११ ले प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ।
सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को साँघुरो जित निकाल्दै झापा उपाधि नजिक पुगेको छ।
बुधबारको खेलको निर्णायक क्षण ६७ औं मिनेटमा आयो, जब फागुराम थारूले 'सेकेन्ड बार' सम्हाल्दै गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेको थियो। त्यही एक गोल झापाका लागि जितको आधार बन्यो र टोलीलाई फाइनलसम्म पुर्यायो।
यस जितसँगै झापाले दशकअघिको तीतो हारको मिठो बदला पनि लिएको छ।
२०७२ सालको फाइनलमा पुलिससँग १–० ले पराजित भएको झापा, ठीक त्यही स्कोरमा यसपटक पुलिसलाई पाखा लगाउँदै आत्मविश्वासका साथ अघि बढेको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा ११ का स्वलोमन किङ 'प्लेयर अफ द म्याच' घोषित भए। उनले नगद ११ हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।
पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो। सुरुवाती समयमा पुलिसले खेलमा पकड जमाए पनि अवसरलाई गोलमा परिणत गर्न सकेन।
सञ्जीव लामा, प्रज्वल चौधरी र धीरेन्द्र शाहका प्रहार लक्ष्यविहीन हुँदा पुलिस अग्रता लिनबाट बारम्बार चुक्यो। विशेषगरी २८ औं मिनेटमा लामाको कडा प्रहार बारमा ठोक्किएर फर्किनु पुलिसका लागि दुर्भाग्यपूर्ण रह्यो।
अब झापा ११ ले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन्।
चर्च ब्वाइजले एपिएफलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोर्ट्सले भारतको बिरसामुण्डा स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
प्रतियोगिताको विजेताले ११ लाख रूपैयाँ र उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।