फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसै वर्ष अमेरिकामा हुने विश्वकप फुटबल खेल्न इरानी टोली ‘पक्का आउने’ बताएका छन्।
वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खेलकुद र राजनीति फरक कुरा भएको र इरानले प्रतियोगितामा सहभागिता जनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘खेलकुद राजनीतिभन्दा बाहिर हुनुपर्छ। हामी आशा गर्छौं कि विश्वकपसम्म स्थिति शान्तिपूर्ण हुनेछ, तर इरान खेल्न आउनै पर्छ।’
अमेरिका र इरानबीचको सम्बन्ध अहिले निकै तनावपूर्ण छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सहभागिता ‘अनुपयुक्त’ हुने र यसले खेलाडीहरूको सुरक्षामा जोखिम पुऱ्याउन सक्ने टिप्पणी गरेका थिए।
यसअघि इरानका खेलकुद मन्त्रीले आफ्नो देशको सर्वोच्च नेता मारिएको घटनालाई लिएर विश्वकपमा सहभागी नहुने बताएका थिए। इरानले आफ्ना खेलहरू अमेरिकाबाट हटाएर मेक्सिकोमा सार्न फिफासँग अनुरोध गरेको थियो, तर फिफाले खेलको स्थान परिवर्तन गर्न अस्वीकार गरिदिएको छ।
इरानले समूह चरणका दुईवटा खेल लस एन्जलस र एउटा खेल सियाटलमा खेल्ने तालिका छ। लस एन्जलसमा इरानी मूलका मानिसहरूको ठूलो बसोबास रहेको छ। रानको समूहमा बेल्जियम, न्युजिल्यान्ड र इजिप्ट रहेका छन्। जुन १५ र २१ मा लस एन्जलसमा (न्युजिल्यान्ड र बेल्जियमविरुद्ध) र जुन २६ मा सियाटलमा (इजिप्टविरुद्ध) हुने तय छ।
इरान र अमेरिकाबीच फुटबल मैदानमा पुरानो प्रतिस्पर्धा छ। सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ ले हराएको थियो भने, सन् २०२२ को विश्वकपमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको थियो।
यद्यपि इरानले अन्तिम समयमा आएर के निर्णय गर्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, तर फिफा भने इरानलाई मैदानमा उतार्न दृढ देखिएको छ।
सन् २०२६ को विश्वकप जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुँदैछ।