घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सम्राटले उपाधि भिडन्त सुनिश्चित गरेको हो।
पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनलसम्मको यात्रा तय गर्दै प्रतियोगितामा सनसनी मच्चाएको छ।
अब शनिबार हुने फाइनलमा सम्राटले झापा–११ को सामना गर्नेछ। रात्रिकालीन समयमा भइरहेको प्रतियोगिताको फाइनल पनि शनिबार राति नै हुनेछ।
सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले एक–एक गोल गरे।
खेलको ‘प्लेयर अफ द म्याच’ सौरभ तामाङ घोषित भए, जसले नगद ११ हजार रुपैयाँ प्राप्त गरे।
खेलको ५० औं मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेट सकिएपछि थपिएको ७ मिनेटको समयमा सम्राटले थप दुई गोल गर्दै जित पक्का गर्यो।
थपिएको समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै अग्रता दोब्बर पारे भने छैटौँ मिनेटमा विवेक राईले गोल थप्दै सम्राटलाई ३–० को सहज जित दिलाए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु दर्शकको उत्साहजनक समर्थन पाएर सम्राटले आक्रामक सुरूआत गरेको थियो। तर पहिलो हाफमै केही अवसरहरू खेर फालेको थियो।
२९ औं मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो भने ३२ औं मिनेटमा आशिष चौधरीको शक्तिशाली शट पोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा सुरूआती गोलपछि दबाबमा परेको चर्च ब्वाइजले बराबरी फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। समीर तामाङ र सृजन गौतमले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोलीले खेलमा फर्किने मौका गुमायो।
६७ औं मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२ औं मिनेटमा सृजनको प्रयास पनि लक्ष्यमा पुग्न सकेन।
यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो।
उता झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।