‘फुटबलमा हार व्यहोर्नु सामान्य कुरा हो, मुख्य कुरा हारबाट कसरी उठ्ने भन्ने हो। एउटा खेल हार्दैमा संसार सकिँदैन।’
गत सोमबार लिड्स युनाइटेडसँग घरेलु मैदानमा बेहोरेको अप्रत्याशित हारपछि उठेका प्रश्नहरूको जवाफ दिँदै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले यस्तै धैर्यता देखाएका थिए। र, शनिबार राति चेल्सीलाई उसकै मैदान स्टाम्फोर्ड ब्रिजमा १–० ले स्तब्ध पार्दै क्यारिकले आफ्ना आलोचकहरूलाई मैदानबाटै कडा जवाफ दिएका छन्।
यो जित युनाइटेडका लागि सामान्य थिएन। टोलीका मुख्य चार डिफेन्डरहरू— म्याथिस डी लिट, लिसान्द्रो मार्टिनेज, ह्यारी मगायर र लेनी योरो— चोट र प्रतिबन्धका कारण बाहिर थिए। यस्तो अवस्थामा क्यारिकले १९ वर्षीय युवा खेलाडी आयडेन हेभन र माजराउइलाई सेन्ट्रल डिफेन्डरको रूपमा मैदान उतारेका थिए। हेभनले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जिते। क्यारिकले युवा खेलाडीको साहसको प्रशंसा गर्दै भने, ‘आयडेनले जुन आत्मविश्वासका साथ खेल्यो, त्यो लोभलाग्दो छ।’
खेलको निर्णायक गोल म्याथ्युज कुन्हाले गरे पनि त्यसको आधार कप्तान ब्रुनो फर्नान्डेजले तयार पारेका थिए। यस सिजन प्रिमियर लिगमा १८ औं 'असिस्ट' गर्दै ब्रुनो अल-टाइम रेकर्डको नजिक पुगेका छन्। उनकै पासमा कुन्हाले उत्कृष्ट फिनिसिङ गर्दै युनाइटेडलाई तीन अंक दिलाए।
यो जितसँगै म्यानचेस्टर युनाइटेड दुई वर्षको अन्तरालपछि च्याम्पियन्स लिगमा छनोट हुने बलियो सम्भावना बनेको छ। अब बाँकी रहेका ५ खेलबाट केवल ८ अंक जोडेमा युनाइटेडको शीर्ष चारमा स्थान सुरक्षित हुनेछ। लिभरपुलले अझै चेल्सी र एभर्टनसँग खेल्न बाँकी रहेको हुनाले युनाइटेडलाई यो बाटो अझ सहज देखिएको छ।
लिड्ससँगको हारपछि क्यारिकको क्षमतामाथि प्रश्न उठ्न थालेको थियो। धेरैले उनको 'शान्त स्वभाव' लाई कमजोरीका रूपमा व्याख्या गरेका थिए। तर, चेल्सी विरुद्धको कठिन जितले क्यारिक युनाइटेडको भविष्यका लागि योग्य प्रशिक्षक हुन् भन्ने प्रमाणित गरिदिएको छ। प्रशिक्षक क्यारिकले भने, ‘हामी दबाबमा थिएनौं, हामीलाई थाहा थियो कि हामी राम्रो खेलिरहेका छौं। हाम्रा खेलाडीले मैदानमा जुन प्रतिबद्धता देखाए, त्यसैको नतिजा आज हामीले पायौं।’
यो जितले म्यानचेस्टर युनाइटेडका समर्थकहरूमा खुसीको लहर ल्याएको छ भने प्रशिक्षक क्यारिकको पद पनि थप सुरक्षित बनेको देखिएको छ।