रियल सोसिडाडले एट्लेटिको मड्रिडको चुनौतीलाई टाइब्रेकरमा पन्छाउँदै चौथो पटक कोपा डेल रेको उपाधि उचालेको छ। निर्धारित र थप गरिएको समयमा खेल २–२ को बराबरीमा सकिएपछि भएको रोमाञ्चक पेनाल्टी सुटआउटमा सोसिडाडले बाजी मारेको हो।
फाइनल खेल सुरु भएको मात्र १४ सेकेन्डमा आन्दर बारेनेट्क्सियाले हेडमार्फत गोल गर्दै रियल सोसिडाडलाई अग्रता दिलाएका थिए। यो कोपा डेल रे फाइनलको इतिहासकै सबैभन्दा छिटो गोल हो। सुरुवातमै झट्का खाएको एट्लेटिकोका लागि १८ औं मिनेटमा एडेमोला लुक्म्यानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै सोसिडाडलाई पुनः २–१ को अग्रता दिलाए। तर, दोस्रो हाफमा डिएगो सिमियोनीको एथलेटिको मड्रिडले कडा टक्कर दियो। जुलियन अल्भारेजले डिबक्स बाहिरबाट प्रहार गरेको एउटा विश्वस्तरीय 'सनसनीपूर्ण' गोलले खेललाई २–२ को स्थितिमा पुर्यायो।
थप गरिएको अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो।
पेनाल्टी सुटआउटमा सोसिडाडका गोलकिपर उनाई मारेरो चम्किए। उनले एथलेटिकोका दुईवटा प्रहारलाई उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। अन्त्यमा पाब्लो मारिनले निर्णायक पेनाल्टीलाई जाली चुमाएपछि सोसिडाडले सन् २०२० पछि पहिलो पटक उपाधि खुसी मनायो।
यो हारसँगै एट्लेटिको मड्रिडको यस सिजन घरेलु ट्रफी जित्ने सपना समाप्त भएको छ। ला लिगाको अंक तालिकामा चौथो स्थानमा रहेको एट्लेटिको अब च्याम्पियन्स लिगमा केन्द्रित हुनेछ। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा उसले अप्रिल २९ मा आर्सनलको सामना गर्दैछ।
एट्लेटिकोका लागि यो हार पीडादायी रहे पनि सोसिडाडका समर्थकहरूका लागि भने यो रात ऐतिहासिक उत्सवको रात बनेको छ।