इतिहास रंगशालामा भएको एक रोमान्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड झन् रोचक बनाएको छ।
दोस्रो हाफमा अर्लिङ हालान्डले गरेको निर्णायक गोलको मद्दतले सिटीले आर्सनलसँगको अंक दुरी मात्र ३ मा झारेको छ, जबकी सिटीले अझै एक खेल खेल्न बाँकी छ।
खेलको सुरुवातदेखि नै दुवै टोलीले गोल गर्ने राम्रा अवसरहरू बनाएका थिए। रायन चर्कीले डिबक्सभित्र उत्कृष्ट कौशल देखाउँदै गोल गरेर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, सिटीको खुसी धेरै बेर टिक्न पाएन। मात्र १०७ सेकेन्डपछि आर्सनलका काइ हाभर्जले गोल गर्दै खेल बराबरीमा ल्याए। सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले बल क्लियर गर्न ढिलाइ गर्दा हाभर्जले त्यसको फाइदा उठाएका थिए।
दोस्रो हाफमा खेल निकै तनावपूर्ण रह्यो। हालान्ड र एबेरेची एजेका प्रहारहरू पोलमा लागेर फर्किएका थिए। गोलकिपर डोनारुम्माले हाभर्जको एउटा खतरनाक प्रहारलाई उत्कृष्ट बचाउ गरे। त्यसको केही समयपछि हालान्डले नजिकैबाट गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए, जुन खेलको निर्णायक गोल बन्यो।
आर्सनलका डिफेन्डर ग्याब्रियलको हेडर पनि पोलमा लागेर बाहिरिएको थियो। यदि यो खेल आर्सनलले जितेको भए उनीहरू ९ अंकले अगाडि हुने थिए, तर यो हारसँगै उनीहरूको अग्रता मात्र ३ अंकमा खुम्चिएको छ।
अब यदि म्यानचेस्टर सिटीले यो हप्ता हुने बर्नलीविरुद्धको खेल कम्तीमा २ गोलको अन्तरले जितेमा, उनीहरू प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिनेछन्।