१० वर्षअघि लेस्टर सिटी प्रिमियर लिगको उपाधि उचाल्ने तयारीमा थियो, जसले फुटबल जगतलाई नै स्तब्ध पारेको थियो। तर समय यसरी बदलियो कि, सन् २०२६/२७ सिजन यो टोली इंग्ल्याण्डको तेस्रो डिभिजन (लिग वन) मा खेल्ने भएको छ।
मंगलबार हल सिटीसँग २-२ को बराबरी गरेसँगै लेस्टर सिटी रेलिगेसनमा पर्ने पक्का भएको हो। सन् २०२१ मा एफए कप जितेयता यो क्लबको ओरालो यात्रा सुरु भएको थियो।
सन् २०१६ मा न्यून सम्भावनालाई चिर्दै प्रिमियर लिग जितेको लेस्टरले २०१७ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एथ्लेटिको म्याड्रिडसँग खेलेको थियो।
तर अबको १० वर्षपछि यो टोली 'ब्रोम्ली' जस्तो क्लबसँग भिड्नेछ, जसले आफ्नो १३४ वर्षको इतिहासमा १३२ वर्ष तल्लो स्तरको (नन-लिग) फुटबल मात्र खेलेको छ।
क्लबका प्रभावशाली मालिक विचाई श्रीवद्धनप्रभाको हेलिकप्टर दुर्घटनामा भएको निधन क्लबका लागि अपूरणीय क्षति बन्यो। उनका छोराले जिम्मेवारी सम्हाले पनि क्लबले सही दिशा लिन सकेन। पछिल्लो ३ वर्षमा क्लबले ७ जना प्रशिक्षक फेरिसकेको छ, जसले गर्दा टोलीको खेल्ने शैली र पहिचान नै हराएको छ।
लेस्टर सिटी अहिले गम्भीर आर्थिक संकटमा छ। सन् २०२४-२५ को सिजनमा मात्रै क्लबले ७ करोड १० लाख पाउण्डभन्दा बढीको घाटा व्यहोरेको छ।
आर्थिक नियम उल्लंघन गरेका कारण यसै सिजन क्लबको ६ अंक समेत काटिएको थियो। धेरै तलब खाने खेलाडीहरू र बैंकको ऋणले क्लबलाई थप आर्थिक दबाबमा पारेको छ।
क्लबको यो अवस्था देखेर समर्थकहरू मर्माहत भएका छन्। केही दिनअघि पोर्ट्समाउथसँगको हारपछि इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी ह्यारी विंक्सको समर्थकहरूसँग भनाभन समेत भएको थियो। फ्यानहरू भन्छन्, ‘हामीले असम्भव सपना देख्यौँ र पूरा पनि गर्यौँ, तर अहिलेको यो पतन एकदमै पीडादायी छ।’