अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफासँग रहेको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट सदस्य राष्ट्रलाई थप रकम वितरण गर्न सकिने संकेत गरेका छन्।
इन्फान्टिनोले सोमबार फिफाका ६ वटा महादेशीय महासंघलाई पठाएको पत्रमा जिम्मेवारीपूर्वक उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त रकम’ वितरणको पक्षमा आफू रहेको बताएका छन्।
यो प्रस्ताव फिफा काउन्सिलको आगामी १५ अक्टोबरमा हुने बैठकमा छलफल हुने भएको छ।
इन्फान्टिनोले पत्रमा वितरण हुने रकमबारे भने अहिल्यै कुनै निश्चित अंक तय नगरेको बताएका छन्। 'एउटा अंकले छलफल सुरु गर्न सक्छ, तर विश्वव्यापी नीति तय गर्न त्यसले मात्रै पुग्दैन,’ उनले उल्लेख गरेका छन्।
फिफाको सञ्चितिबाट प्रत्येक सदस्यलाई १० मिलियन डलर (करिब ७.५ मिलियन पाउन्ड) उपलब्ध गराउन युरोपको युइएफए र उत्तर तथा मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको कन्काकाफले माग गरेपछि इन्फान्टिनोको यस्तो धारणा आएको हो। फिफामा हाल २११ सदस्य संघ छन्।
इन्फान्टिनो पछिल्लो समय फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजनालाई लिएर दबाबमा छन्। उक्त योजनाअन्तर्गत विश्वकपलगायत फिफाका प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव गरिएको थियो। तर योजनाले व्यापक विरोध भएपछि फिफाले त्यसलाई फिर्ता लिएको थियो।
इन्फान्टिनोले आफ्नो पत्रमा उक्त प्रस्तावको पुनः बचाउ गर्दै त्यसको उद्देश्य फुटबलमा थप लगानीका लागि रकम जुटाउनु रहेको दाबी गरेका छन्।
'हाल फिर्ता लिइएको व्यावसायिक प्रस्ताव फिफालाई फुटबलमा थप लगानी गर्न सक्षम बनाउने उद्देश्यले ल्याइएको थियो,’ उनले लेखेका छन्।
इन्फान्टिनोले सन् २०२७ मार्चमा चौथोपटक फिफा अध्यक्ष पदमा निर्वाचन लड्ने तयारी गरेका छन्। उनका सम्भावित प्रतिस्पर्धीले वैकल्पिक उम्मेदवार अघि सार्न १८ नोभेम्बरसम्मको समय पाउनेछन्।