अर्जेन्टिनासँगको मैत्रीपूर्ण खेलमा ७–० को लज्जास्पद हार बेहोरेपछि अफ्रिकी राष्ट्र बुर्किना फासोको फुटबलमा ठूलो संकट देखिएको छ।
राष्ट्रिय टोलीको व्यवस्थापनमा गम्भीर कमजोरी भएको भन्दै राष्ट्रपति इब्राहिम ट्राओरेले फुटबल महासंघमा सरकारी हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। सरकारको यस्तो कदमले बुर्किना फासोमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्ध लाग्न सक्ने जोखिम बढाएको छ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भएको मैत्रीपूर्ण खेलमा बुर्किना फासो ७–० ले पराजित भएको थियो। तर, यो हारले मैदानको नतिजालाई मात्र होइन, राष्ट्रिय टोलीको व्यवस्थापन र फुटबल प्रशासनको अवस्थालाई समेत विवादको केन्द्रमा ल्याएको छ।
अर्जेन्टिनाविरुद्धको खेलअघि बुर्किना फासोको टोलीले यात्राका क्रममा ठूलो सास्ती बेहोर्नुपरेको समाचारमा उल्लेख छ। ट्रान्जिट भिसासम्बन्धी समस्याका कारण टोलीको यात्रा जटिल बनेको थियो। लामो र घुमाउरो हवाई यात्राका कारण खेलाडीले धेरै दिन बाटोमै बिताउनुपरेको थियो।
टोली खेल सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै ब्युनस आयर्स पुगेको बताइएको छ। विदेशमा व्यावसायिक फुटबल खेलिरहेका केही नियमित खेलाडीसमेत टोलीमा अनुपस्थित थिए।
राष्ट्रिय टोलीको आधारभूत आवश्यकता र यात्राको व्यवस्थापन गर्न नसकेको भन्दै फुटबल महासंघको नेतृत्वमाथि प्रश्न उठेको छ। महासंघका अध्यक्ष ओमारो सावाडोगोको नेतृत्वमा रहेको प्रशासनले टोलीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
बुर्किना फासोका राष्ट्रपति तथा सैन्य नेता क्याप्टेन इब्राहिम ट्राओरेले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्नुपर्ने बताएका छन्।
फ्रान्सेली सञ्चारमाध्यम आरएमसी स्पोर्टका अनुसार ट्राओरेले देशको फुटबलको अवस्था सुधार्न निर्णायक कदम चाल्ने संकेत गरेका छन्।
‘हाम्रो फुटबल बिरामी छ भन्ने कुरा सत्य हो। हामी यसको उपचार खोज्नेछौँ। फेरि लगानी गर्नका लागि पहिले यो रोग निको पार्नुपर्छ। काम अघि बढाउन यो साता हामीले महत्त्वपूर्ण निर्णय लिनुपर्ने देखिन्छ,’ ट्राओरेको भनाइ उद्धृत गर्दै समाचारमा उल्लेख छ।
उनले फुटबल महासंघको नेतृत्वलाई अब सरकार चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन्।
‘यसअघि हामीले महासंघको काममा हस्तक्षेप गर्न चाहेका थिएनौँ। तर, अब हामीसँग अर्को विकल्प छैन। फिफाले प्रतिबन्ध लगाए पनि नलगाए पनि हामीले कदम चाल्नुपर्छ। हस्तक्षेप गर्छौं भने फुटबलको व्यवस्थापन व्यवस्थित र सही ढंगले सञ्चालन गर्नका लागि गर्नेछौँ,’ ट्राओरेले भनेका छन्।
तर, राष्ट्रपति ट्राओरेको चेतावनीले बुर्किना फासोलाई अर्को ठूलो संकटमा धकेल्न सक्ने देखिएको छ। फिफाको विधानले सदस्य राष्ट्रका फुटबल महासंघलाई सरकारी वा अन्य तेस्रो पक्षको अनुचित हस्तक्षेपबाट मुक्त राख्नुपर्ने व्यवस्था गरेको छ।
यदि बुर्किना फासो सरकारले महासंघको कार्यसमिति विघटन गर्ने, नेतृत्वलाई हटाउने वा आफ्नो नियन्त्रणमा नयाँ नेतृत्व स्थापना गर्ने कदम चाल्यो भने फिफाले त्यसलाई नियमविपरीत हस्तक्षेपका रूपमा लिन सक्छ।
त्यस्तो अवस्थामा बुर्किना फासोको फुटबल महासंघमाथि निलम्बनको कारबाही हुन सक्छ। विगतमा केन्या र जिम्बाब्वेले पनि फुटबल प्रशासनमा सरकारी हस्तक्षेपका कारण फिफाको प्रतिबन्ध सामना गरेका उदाहरण छन्।
फिफाले प्रतिबन्ध लगाएमा बुर्किना फासोको राष्ट्रिय टोलीले विश्वकप छनोट र अफ्रिका कप अफ नेसन्सका छनोट प्रतियोगितामा सहभागी हुन नपाउने जोखिम हुनेछ। त्यस्तै, देशका क्लबहरू अफ्रिकी फुटबल महासंघ (काफ) अन्तर्गतका प्रतियोगिताबाट वञ्चित हुन सक्छन्। फिफाबाट प्राप्त हुने विकाससम्बन्धी आर्थिक सहयोगसमेत रोकिन सक्छ।
यसरी अर्जेन्टिनासँगको एउटा लज्जास्पद हारले बुर्किना फासोको फुटबललाई मैदानबाहिरको ठूलो विवादमा पुर्याएको छ। राष्ट्रिय टोलीको व्यवस्थापन सुधार्नुपर्ने दबाब र फुटबल महासंघको स्वायत्तता कायम राख्नुपर्ने फिफाको नियमबीच अब बुर्किना फासोको नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ।