अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईविरूद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश भएको छ।
जिल्ला अदालत ललितपुरकी न्यायाधीश भगवती शर्माको इजलासले नेम्बाङ र राईविरूद्ध पक्राउ पूर्जी जारी गर्न आदेश दिएको हो।
आर्थिक अनियमितता, खेल मिलोमतो (म्याच फिक्सिङ) तथा ठगी प्रकरणको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा बिहीबार अभियोगपत्र दर्ता गराएको थियो।
अभियोगपत्रमा एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई मुख्य प्रतिवादी बनाइएको थियो।
प्रतिवादीमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे प्रहरी हिरासतमा थिए भने अध्यक्ष नेम्बाङ र महासचिव राई फरार रहेका छन्।
जोशी र पाण्डेलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ। जोशी १५ लाख र पाण्डे १२ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला अदालतका सूचना अधिकारी टिकाध्वाज कार्कीले जानकारी दिए।
खेलमा मिलोमतो तथा अनियमितता (म्याच फिक्सिङ)
एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल र बहराइनबीचको 'होम म्याच' काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा घरेलु मैदानको अवस्था बिग्रन दिई योजनाबद्ध रूपमा खेल बहराइनमा सारिएको थियो।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ र ३२ (ग) बमोजिम विपक्षीसँग मिलोमतो गरी नेपाललाई पराजित गराउने र स्वाभाविक परिणाम प्रतिकूल हुने कार्य गरेको ठहर गरिएको छ।
ठगी तथा राजस्व अपचलन
बहराइन खेलको टिकट राजस्व अपचलन: नेपालको खेल बहराइनमा सञ्चालन गरेबापत बहराइन फुटबल संघबाट एन्फाले पाउनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको खातामा दाखिला नगरी अपचलन गरिएको छ।
केल्मी खेल सामग्री खरिदमा अनियमितता
एन्फाको आर्थिक कार्यविधि विपरीत खुला प्रतिस्पर्धा वा टेन्डर नगरी कोटेशनमार्फत खेल सामग्री खरिद गरी संघलाई ५० हजार अमेरिकी डलर बराबरको बेइमानीपूर्वक हानी-नोक्सानी पुर्याइएको छ।
फिफा विश्वकप टिकट बिक्री र प्रायोजन अपचलन
फिफाबाट एन्फालाई उपलब्ध गराइएको ३३० थान विश्वकप टिकटहरूको बिक्री-वितरणमा पारदर्शिता नराखी गैर-आधिकारिक माध्यमबाट किनबेच गरिएको र शेर्पा आउटडोर (केटिएम सिटी) सँगको प्रायोजन रकममा समेत व्यक्तिगत लाभ लिई अपचलन गरिएको छ।
मागदाबी गरिएको सजाय र बिगो
सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई कसुर अनुसार निम्न बमोजिमको सजाय र बिगो असुलिको मागदाबी गरेको छ।
ठगी कसुरतर्फ (मुलुकी अपराध संहिता, २०७४)
दफा २४९ को उपदफा (१) र (२) बमोजिमको ठगी कसुरमा उपदफा ३ (क) अनुसार गैर-नाफामूलक तथा सार्वजनिक संस्थालाई ठगी गरेकाले १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ।
खेलमा मिलोमतो कसुरतर्फ (राष्ट्रिय खेलकुद विकास ऐन, २०७७)
दफा ३१ र ३२ (ग) बमोजिमको कसुरमा दफा ३३ (ग) अनुसार ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा कुनै रकम लेनदेन भएको भए सो रकम जफत गर्ने माग गरिएको छ।
बिगो तथा क्षतिपूर्ति मागदाबी
मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम केल्मी खरिद अनियमितता बापत ६६ लाख ५३ हजा र ९ सय रूपैयाँ र बहराइन म्याच टिकट राजस्व अपचलन बापत २६ लाख ४७ हजार गरी जम्मा ९३ लाख नौ सय रुपैयाँ बिगो प्रतिवादीहरूबाट असुल गरी एन्फालाई भराइदिने मागदाबी गरिएको छ।