स्पेनिस ला लिगामा रियल मड्रिडले भिल्लारियलविरुद्ध कठिन जित निकालेको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका भिनिसियस जुनियरले रातो कार्ड पाएका छन्।
विपक्षी खेलाडी नाथन सालिबाको कपाल तानेपछि भिनिसिय रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
ब्राजिलियन फरवार्ड भिनिसियसले रियलका लागि दोस्रो गोल गरेको ठानेका थिए। गोलको खुसीमा मुख्य प्रशिक्षक जोसे माउरिन्हो पनि मैदानको छेउबाट खेलाडीसँगै उत्सव मनाउन दौडिए।
तर, पछि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि उक्त गोलले मान्यता पाएन। गोल गर्नुअघि भिनिसियसले सालिबाको कपाल तानेको स्पष्ट देखिएपछि रेफ्रीले गोल रद्द गरे।
त्यसपछि खेलको ७२औँ मिनेटमा रेफ्रीले भिनिसियसलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डको स्थानमा मैदान प्रवेश गरेको २० मिनेटमै भिनिसियसको खेल समाप्त भयो।
रातो कार्डको निर्णयपछि रियल मड्रिडका खेलाडी र प्रशिक्षक रेफ्रीसँग निकै आक्रोशित बने। खेल सकिएपछि माउरिन्होले अनिवार्य मानिने पत्रकार सम्मेलनमा समेत उपस्थित हुन अस्वीकार गरे।
रियल मड्रिडका खेलाडीहरू सामान्यतया जितपछि पनि सञ्चारमाध्यमसँग खुलेर कुरा गर्न अगाडि आउने गर्दैनन्। तर, यस्तो अवस्थामा टोलीका कुनै प्रतिनिधि आएर जितबारे प्रतिक्रिया दिने र रेफ्रीका निर्णयबारे आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो।
तर, त्यस्तो भएन।
यसमा असामान्य कुरा के थियो भने, रियलको जिम्मेवारी सम्हालेयता माउरिन्हो पहिलोपटक खेलपछिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्।
पत्रकारहरू लामो समयसम्म उनको प्रतीक्षामा बसे। तर, पत्रकार सम्मेलनको ढोका खुलेन। बरु उनले बोलेमा आफ्नो भनाइका कारण प्रतिबन्धमा पर्न सक्ने चिन्ता व्यक्त गरेको खबर फैलियो।
त्यसैले उनले पत्रकार सम्मेलनमा उपस्थित नभएको बताइएको छ।
खेलभरि नै माउरिन्हो रेफ्रीका निर्णयप्रति असन्तुष्ट देखिएका थिए। उनले पहेँलो कार्डसमेत पाएका थिए। केही अवसरमा त उनको आक्रोश नियन्त्रणबाहिर जान लागेपछि आफ्नै टोलीका सदस्यहरूले उनलाई शारीरिक रूपमा रोकेर शान्त पार्नुपरेको थियो।
भिनिसियसको गोल रद्द भएपछि रातो कार्ड देखाइएको घटनाले खेलको माहोल एकाएक तनावपूर्ण बन्यो। भिनिसियसको गोलको खुसी मनाउन मैदानभरि दौडिएका माउरिन्हो केही क्षणमै रेफ्रीको निर्णयप्रति आक्रोशित बने। खेल अधिकारीहरू मैदानबाट बाहिरिने क्रममा रियलका खेलाडीहरूले रेफ्रीलाई घेरेर विरोध जनाए।
सुरुमा खासै रोमाञ्चक नदेखिएको सुस्त र प्रभावहीन खेल दोस्रो हाफमा नाटकीय घटनाक्रम, विवाद र रातो कार्डको शृङ्खलामा परिणत भयो।
एट्लेटिको मड्रिडविरुद्धको खेलमा डिन हाइसेनले रातो कार्ड पाएको रियलका लागि यो लगातार दोस्रो खेलमा भएको अर्को रातो कार्ड थियो।
तर, विवाद र नाटकीय घटनाक्रमभन्दा पर हेर्दा रियल मड्रिडको प्रदर्शन निकै निराशाजनक रह्यो।
रेफ्रीका निर्णयलाई लिएर जति विवाद भए पनि माउरिन्होको टोलीले उपाधिका लागि गम्भीर चुनौती दिन सक्ने स्तरको प्रदर्शन देखाउन सकेन।
यदि बार्सिलोनाले यो खेल हेरिरहेको थियो भने रियलको प्रदर्शनबाट उसलाई खासै डर लाग्ने थिएन। कम्तीमा पनि यो खेलका आधारमा बार्सिलोना रियलसँग त्रसित हुनुपर्ने कुनै कारण देखिएन।
कपाल तान्दा के भन्छ फुटबलको नियम?
अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) को खेल नियमावलीको नियम १२ अनुसार विपक्षी खेलाडीको कपाल तान्ने कार्यलाई हिंसात्मक व्यवहारअन्तर्गत राखिन्छ। यस्तो कार्यका लागि खेलाडीलाई सिधै रातो कार्ड देखाएर मैदानबाट निष्कासन गर्न सकिन्छ।
नियमअनुसार बलका लागि प्रतिस्पर्धा नगरेको अवस्थामा कुनै खेलाडीले विपक्षीको कपाल बलपूर्वक तान्ने स्पष्ट कार्य गरेमा उसलाई रातो कार्ड देखाउनुपर्छ।
यद्यपि, सन् २०२५–२६ को सिजनमा कपाल तानेकै कारण तीन खेलाडीले रातो कार्ड पाएपछि इंग्लिस प्रिमियर लिगका रेफ्रीहरूले यस सिजनदेखि यस्तो घटनाको मूल्याङ्कन गर्ने तरिकामा परिवर्तन गरेका छन्।
अब विपक्षीको कपाल तानेको देखिनेबित्तिकै हरेक अवस्थामा रातो कार्ड देखाइने छैन। त्यसको सट्टा कति बल प्रयोग गरिएको थियो र खेलाडीको नियत के थियो भन्ने कुरालाई बढी महत्त्व दिइनेछ।
तर, भिनिसियसले सालिबाको कपाल नियतवश र जोडले तानेको घटनालाई हेर्दा इंग्ल्यान्डको प्रिमियर लिगमा पनि उनले रातो कार्ड पाउने सम्भावना उच्च हुन्थ्यो।
गत सेप्टेम्बरमा कन्काकाफ नेसन्स लिगअन्तर्गत एन्टिगुवा एन्ड बारबुडा र एङ्गुइलाबीचको खेलमा पनि कपाल तानेकै घटनामा एन्टिगुवा एन्ड बारबुडाका दुई खेलाडीले रातो कार्ड पाएका थिए।