बार्सिलोनाले भिल्लारियलमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनरागमन गरेको छ। स्पोटिफाई नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जित निकालेको हो।
खेलको सुरुवातमै भिल्लारियलले घरेलु टोलीलाई स्तब्ध बनाएको थियो। खेलको सुरुवाती सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुवासेयीले गोल गर्दै भिल्लारियललाई २–० को अग्रता दिलाएका थिए।
सन् १९८१ नोभेम्बरपछि पहिलो पटक बार्सिलोनाले लिगको कुनै खेलमा सुरुवाती सात मिनेटभित्रै दुई गोल बेहोरेको हो। यसअघि रियल जारागोजाविरुद्ध बार्सिलोनाले यस्तो स्थिति सामना गरेको थियो।
खेलको २३औँ मिनेटमा ओलुवासेयीले लामिन यमाललाई पेनाल्टी क्षेत्रमा फल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर, स्पेनका युवा स्टार यमालले पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहार पोस्टबाहिर गएको थियो।
पहिलो हाफको अन्त्यतिर जेरार्ड मार्टिनले नजिकैबाट गरेको हेडर पनि बारबाट माथि गएपछि बार्सिलोनाले गोल गर्ने अर्को अवसर गुमाएको थियो।
दोस्रो हाफमा भने बार्सिलोना थप आक्रामक रूपमा प्रस्तुत भयो। खेलको ५२औँ मिनेटमा पेड्रीको क्रसमा जेरार्ड मार्टिनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत गरे।
त्यसको आठ मिनेटपछि नै बार्सिलोनाले बराबरी गोल गर्यो। लामिन यमालको पासमा फर्मिन लोपेजले गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए।
लगत्तै बार्सिलोनाले अग्रता लियो। खेलको ६७औँ मिनेटमा एरिक गार्सियाले उपलब्ध गराएको क्रसलाई रोक्ने क्रममा भिल्लारियलका डिफेन्डर पाउ नाभारोले आफ्नै पोस्टमा गोल गर्न पुगे। त्यससँगै बार्सिलोनाले खेलमा पहिलो पटक अग्रता बनायो।
इन्जुरी समयमा नाभारोले बार्सिलोनाका कप्तान राफिन्हामाथि फल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्नुपर्यो। यससँगै भिल्लारियल १० खेलाडीमा सीमित भयो।
भिल्लारियलका प्रशिक्षक इनिगो पेरेजले बार्सिलोनाविरुद्ध खेलेका पछिल्ला ६ खेलमा जित निकाल्न सकेका छैनन्। उनले बार्सिलोनाविरुद्ध एक बराबरी र पाँच हार बेहोरेका छन्।
यस जितसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि तीन अंकको अग्रता बनाएको छ। बार्सिलोनाले बुधबार च्याम्पियन्स लिगमा साबाहको सामना गर्नेछ।