राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ।
यो समय देशमा प्रतिनिधिसभाको चुनावी माहोल हुनेछ। फागुन २१ मा हुने चुनावका लागि माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह, नेपालयका अध्यक्ष सुवास प्रधान, नेपाल भलिबल संघका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
प्रतियोगितामा टेबलटेनिस, बास्केटबल र भलिबलको प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । भलिबलमा छात्रको मात्र खेल हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।