नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सका लागि वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल खेल्दैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा विराटनगरले चितवन राइनोजको सामना गर्दैछ।
आजको खेलमा चितवन राइनोजको कप्तानीमा पनि परिवर्तन भएको छ। नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नपरेपछि इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टोलीको नेतृत्व सम्हाल्ने भएका छन्।
टस जितेको विराटनगर किंग्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। त्यससँगै चितवनले पहिले ब्याटिङ गर्नेछ।
विराटनगरको प्लेइङ–११ मा रसेलसँगै श्रीलंकाका चरिथ असलंका र एन्जेलो म्याथ्युज पनि छन्। टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्। रसेलको आक्रामक ब्याटिङ र बलिङले विराटनगरको प्रदर्शनमा कस्तो प्रभाव पार्छ भन्ने चासो छ।
यता, चितवनको ब्याटिङमा इंग्ल्यान्डका डेविड मलान, अर्जुन साउद र देव खनाल छन्। कप्तान बोपारासहित ड्यान माउस्ली र टम टेलरले पनि टोलीलाई बलियो बनाउनेछन्।
स्टार खेलाडीले भरिएको विराटनगर र कप्तानी परिवर्तनसहित मैदानमा उत्रिएको चितवनबीचको प्रतिस्पर्धाले आजको खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

