नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।
चितवनका लागि इंग्ल्यान्डका अनुभवी ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। मलानले ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए।
देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए। उनलाई चरिथ असलंकाले स्टम्पिङमार्फत आउट गराएका थिए। त्यसपछि मलानले अर्जुन साउदसँग दोस्रो विकेटका लागि २१ रन जोडे। अर्जुन ९ बलमा ३ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए।
१२.२ ओभरमा ९० रन हुँदा तेस्रो विकेटका रूपमा मलान पनि आउट भए। उनलाई विराटनगरका स्टार अलराउन्डर आन्द्रे रसेलले बोल्ड गरेका थिए।
रसेलले एनपिएलको पहिलो खेलमा आफ्नो बलिङतर्फको जिम्मेवारी पूरा गर्दै ४ ओभरमा ३९ रन खर्चिएर १ विकेट लिए। उनले ९.७५ को इकोनोमीमा बलिङ गर्दा १ वाइड र २ नोबलसमेत फाले। विराटनगरका लागि म्याथ्युज र असलंकाले पनि समान १–१ विकेट लिए।
मलान आउट भएपछि कप्तान रवि बोपारा र ड्यान माउस्लीले चितवनको इनिङ्स सम्हाले। यी दुईले चौथो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। बोपारा २६ बलमा ३२ रन र माउस्ली २२ बलमा २९ रन बनाएर नटआउट रहे।
बोपाराले १ चौका र २ छक्का प्रहार गर्दा माउस्लीले २ चौका हिर्काए। नियमित कप्तान कुशल मल्ल प्लेइङ–११ मा नरहेपछि चितवनको नेतृत्व गरिरहेका बोपाराले ब्याटिङमा पनि महत्त्वपूर्ण योगदान दिए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। उनले किफायती बलिङ गरे पनि चितवनले अन्तिम पाँच ओभरमा मात्रै ५२ रन जोड्दै बलियो योगफल तयार पारेको हो।
अब विराटनगरलाई जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ। विराटनगरका लागि रसेल, चरिथ असलंका र एन्जेलो म्याथ्युजजस्ता अन्तर्राष्ट्रिय स्टार ब्याटिङमा उत्रने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।