नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीलाई मध्यम योगफलमा रोक्न जनकपुरका १६ वर्षीय राहुल यादवले उत्कृष्ट बलिङ गरे।
जनकपुरको ट्यालेन्ट हन्टबाट छनोट भएका राहुलले एनपिएलमा डेब्यू गर्दै चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए। उनले दीपक डुम्रे र हुसेन तलातलाई आउट गरे। राहुलको इकोनोमी ३.७५ रह्यो। उनले आफ्नो डेब्यू खेलमै प्रभावशाली प्रदर्शन गर्दै कर्णालीको मध्यक्रमलाई दबाबमा राखे।
जनकपुरका लागि कप्तान हरमित सिंह सबैभन्दा सफल बलर बने। यसै सिजन जनकपुरको कप्तान बनेका उनले चार ओभरमा एक मेडनसहित २२ रन खर्चेर तीन विकेट लिए। मोइन अलीले दुई तथा ललित राजवंशीले एक विकेट लिए।
कर्णालीका लागि बंगलादेशका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। यी दुईको ब्याटिङले कर्णालीलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो।
अरिफुल र पवनले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे। अरिफुल १२.१ ओभरमा आउट भएपछि कर्णाली ७९/४ को अवस्थामा थियो। त्यसपछि अकबर अली एक रनमा आउट भए। पवन र गुल्सन झाले छैटौँ विकेटका लागि २२ रन जोडे। गुल्सनले नौ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाए।
कर्णालीले अन्तिम पाँच ओभरमा चार विकेट गुमाउँदै २९ रन मात्र जोड्यो। पवन १८.५ ओभरमा आउट भए। उनले आठौँ विकेटका रूपमा टोलीको स्कोर १२६ रन हुँदा मैदान छाडे।
नन्दन यादवले नौ रन बनाए भने मार्क वाट एक, दीपक डुम्रे १३, हुसेन तलात तीन, अकबर अली एक र कप्तान सोमपाल कामी एक रनमा आउट भए। युवराज खत्री एक र युनिस ठकुरी शून्य रनमा अविजित रहे।
जनकपुरका बलरमध्ये हरमित सिंहले तीन, मोइन अली र राहुल यादवले दुई-दुई तथा ललित राजवंशीले एक विकेट लिए।