नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्रै बनायो।
जनकपुरको ब्याटिङ सुरुदेखि नै धराशायी बनाउने क्रममा चितवनका बलर रञ्जित कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २ रन मात्रै खर्चिए। उनको बलिङ जनकपुरका लागि सबैभन्दा ठूलो समस्या बन्यो।
सिकन्दर राजा र कमिल मिश्राले समान २ विकेट लिए। रिजान ढकाल र कमल ऐरीले १–१ विकेट हात पारे।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे। विशाल सुस्लिङले १३ बलमा १५ तथा सन्तोष कार्कीले ११ बलमा १० रन जोडे। राहुल यादव १० रनमा अविजित रहे।

सुरुवातमै जनकपुर दबाबमा
जनकपुरले पहिलो ६ ओभरको पावरप्लेमा ३ विकेट गुमाएर २२ रन मात्रै बनाएको थियो। पहिलो विकेटका रूपमा तृतराज दास ५ रनमा आउट भए। त्यसपछि रायन बर्ल ६ र सन्तोष कार्की १० रनमा पेभेलियन फर्किए।
रञ्जित कुमारले एकै ओभरमा सन्तोष कार्की र ह्यारी टेक्टरलाई आउट गरेपछि जनकपुर थप दबाबमा परेको थियो। टेक्टर खाता नै नखोली आउट भए।
जनकपुरले ९.५ ओभरमा ४ विकेट गुमाउँदा ४० रन मात्रै बनाएको थियो। त्यसपछि पनि विकेट जाने क्रम रोकिएन।
हरमित र विशालको साझेदारी नै मुख्य आधार
जनकपुरका लागि कप्तान हरमित सिंह र विशाल सुस्लिङले छैटौं विकेटका लागि २३ रनको साझेदारी गरे। यही साझेदारी जनकपुरको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो।
विशालले १५ रन बनाएर आउट भए भने हरमितले टोलीको स्कोर अघि बढाउने प्रयास गरे। तर, अन्य ब्याटरले साथ दिन सकेनन्।
सिकन्दर राजाले रायन बर्ल र आदित्य महतालाई आउट गर्दै जनकपुरको मध्यक्रममा दबाब बढाए। आदित्यले २६ बल खेलेर ४ रन मात्रै बनाउन सके।
जेम्स निसम ८ बलमा खाता नखोली आउट भए। अभिषेक तिवारीले ४ रन बनाए। अन्तिमतिर राहुल यादवले १० र ललित राजवंशीले २ रन बनाएर अविजित रहे।