स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन्। उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि पहिचान बनाएका छन्। सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाउँदै उनी चर्चामा आएका थिए।
सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको टी–२० करिअरको उल्लेखनीय प्रदर्शन हो। उक्त खेलमा उनले काइल कोएत्जरसँग पहिलो विकेटका लागि २०० रनको साझेदारी गरेका थिए। स्कटल्यान्डले त्यस खेलमा २५२ रन बनाएको थियो, जुन टोलीको अहिलेसम्मकै उच्च टी–२० अन्तर्राष्ट्रिय योगफल हो।
त्यस्तै, सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १९१ रन बनाउँदै मन्सेले एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीयमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए। सन् २०२२ को टी–२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाएका उनले सन् २०२६ को संस्करणमा इटालीविरुद्ध ८४ रन बनाउँदै टोलीको जितमा योगदान दिएका थिए।
मन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा उनले २ हजार ७७७ रन बनाउँदा तीन शतक र १९ अर्धशतक प्रहार गरेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २ हजार ५९८ रन छ। यस क्रममा उनले तीन शतक र १४ अर्धशतक बनाएका छन्।
समग्र टी–२० करिअरमा मन्सेले १३३ खेलबाट ३ हजार ६९८ रन बनाएका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको अनुभव र आक्रामक ब्याटिङ क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
'जर्ज मन्से अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका आक्रामक ब्याटर हुन्। उनीसँग एनपीएलको पनि अनुभव छ। उनको आगमनले हाम्रो शीर्ष क्रमको ब्याटिङलाई थप मजबुत बनाउने विश्वास लिएका छौँ' खड्काले भने।
टोलीमा आबद्ध भएपछि मन्सेले सुदूरपश्चिम रोयल्सबाट खेल्न पाउँदा खुसी लागेको बताए।
'गत संस्करणमा नेपालमा खेलेको अनुभव निकै राम्रो थियो। यसपटक सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा उत्साहित छु। टोलीसँग मिलेर राम्रो प्रदर्शन गर्ने र समर्थकलाई खुसी बनाउने लक्ष्य छ' मन्सेले भने।