नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार हुने खेलमा दुवै टोलीले फाइनल प्रवेश गर्ने लक्ष्य राखेका छन्।
पहिलो क्वालिफायरका लागि लुम्बिनीले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन। नियमित कप्तान रोहितकुमार पौडेलकै नेतृत्वमा लुम्बिनी मैदान उत्रिएको छ।
यता, सुदूरपश्चिमले भने आफ्नो प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ। फाबियन एलन र ब्रान्डन म्याकमुलनको स्थानमा थानुका मधुसुधन र जर्ज मुन्सेले मौका पाएका छन्। यस्तै, दीपक बोहराको स्थानमा अभिनास बोहरा टोलीमा फर्किएका छन्।
सुदूरपश्चिमको प्लेइङ ११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, थानुका मधुसुधन, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, अभिनास बोहरा र जर्ज मुन्से।
लुम्बिनीको प्लेइङ ११ : रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट र अली शेख।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीको भने उपाधि यात्राको सम्भावना समाप्त हुनेछैन। उसले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीले बुधबार हुने चितवन राइनोज र काठमाडौं गोर्खाजबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायर बिहीबार हुनेछ।

