नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले आफ्नो टोलीको हारको मुख्य कारण कमजोर ब्याटिङलाई मानेका छन्। उनले ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतिस्पर्धात्मक योगफल बनाउन नसकेको स्वीकार गरेका छन्।
मंगलबार कीर्तिपुरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएपछि आयोजित पोस्ट म्याच पत्रकार सम्मेलनमा टमाटाले शीर्षक्रमका ब्याटर चल्न नसक्नु र मध्यक्रममा आवश्यक साझेदारी बन्न नसक्नु हारको प्रमुख कारण भएको बताए।
उनका अनुसार टोलीले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेन। साना-साना साझेदारी बनाउन पनि असफल भयो। विपक्षी टोलीले राम्रो योजना बनाएर खेले पनि आफ्नो टोलीले योजनाअनुसार प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। जवाफमा लुम्बिनीले १६.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
टमाटाले विदेशी खेलाडीको उपलब्धता र टोलीको संयोजनमा देखिएका चुनौतीबारे पनि धारणा राखे। सिजनभर विदेशी खेलाडी उपलब्ध गराउने लक्ष्य राखिए पनि प्रतियोगिताको लामो अवधि र खेलाडीहरूको व्यस्त तालिकाका कारण अपेक्षाअनुसार सबै खेलाडीलाई निरन्तर उपलब्ध गराउन कठिन भएको उनले बताए।
एनपिएल आयोजना गरेकोमा नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिँदै उनले प्रतियोगिताको समग्र स्तर उकास्न पिचको गुणस्तरमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार राम्रो क्रिकेट खेल्नका लागि राम्रो पिच आवश्यक हुन्छ। पिचलाई अझ राम्रोसँग तयार पार्न सके प्रतियोगिताको स्तर र खेलको गुणस्तर दुवै सुधार हुने उनको धारणा थियो।
विदेशी खेलाडीको उपस्थितिले मात्रै टोली बलियो नहुने उल्लेख गर्दै टमाटाले नेपाली खेलाडीले पनि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिए। कठिन परिस्थितिमा कप्तान दीपेन्द्रसिंह ऐरीले जिम्मेवारी लिएर खेलेको प्रदर्शनको उनले प्रशंसा गरे।
सुदूरपश्चिम पछिल्ला सिजनहरूमा पनि निर्णायक चरणमा पुगेर उपाधि जित्न असफल हुँदै आएको छ। तर टमाटा आगामी खेलप्रति आशावादी छन्। टोलीले आफ्नो रणनीति र कार्यान्वयनमा सुधार गर्दै राम्रो क्रिकेट खेल्नुपर्ने उनले बताए।
लुम्बिनीसँग लगातार पराजित हुँदै आएको विषयमा सोधिएको प्रश्नमा पनि उनले विपक्षीलाई हराउने एउटै उपाय राम्रो क्रिकेट खेल्नु रहेको बताए। विगतका नतिजाभन्दा आगामी खेलमा आफ्नो प्रदर्शन सुधार्न केन्द्रित हुने उनको भनाइ थियो।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायमै छ। उसले बिहीबार दोस्रो क्वालिफायरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ।