ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ।
पाँच दिन सम्म संचालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा संचालन हुने छ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेका छन् ।
तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस प्रतियोगितामा यस पटक पुरस्कार रासीमा बृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी गराए।
अघिल्लो संसकरणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा थप गरि ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए।
यस्तै यु–१७ पुरुष तथा महिलाका शिर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक स्वयंले गर्नेछन्।
अनुमानित ३२ लाख २० हजार ५ सयको अनुमानित लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ।