नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सूचीकृत हुने सबैभन्दा बढी उमेरका एकमात्र धावक बनेका छन्।
गत मंसिर २२ गते सम्पन्न ११औँ धारा नेपालगन्ज म्याराथनमा भेटेरानतर्फ ४२.१९५ किमी दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो।
उनको जन्म २०१५ असार २७ गते हो। संसारका उत्कृष्ट म्याराथन रेसहरूलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरूको सूचीकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ।
साथै मेजर म्याराथनको नतिजा र इलाइट रनरहरूको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ। वर्ल्ड म्याराथन मेजर्सको ६५–६९ वर्ष उमेर समूहमा नेपालबाट एकमात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन्।
मंगले नेपालगन्ज उपमहानगरपालिका-१२ निवासी हुन्। मंगलेको उपलब्धिमा वडाअध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे।
‘६८ वर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो शहरको लागि गर्वको विषय हो।’ उनले भने— ‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सहयोग गर्छ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्दै जान्छ।’
वर्ल्ड एथलेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सूचीकृत छ।