चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिएका छन्।
मंगलबार टेबुलटेनिस हल लैनचौरमा पदक विजेता खेलाडी कृष्ण खड्का र रञ्जन कँडेललाई मन्त्री गुप्ताले बधाई दिएका हुन्।
मन्त्री गुप्ताले एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिएका थिए। उनले आगामी प्रतियोगितामा अझ उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको पनि उपस्थिति रहेको थियो ।
नुजियाङ एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपालले दुई पदक जितेको थियो । नेपालका कृष्ण खड्काले छोटो दूरी (सर्ट डिस्टेन्स) स्पर्धामा स्वर्ण पदक जितेका थिए । यस्तै रञ्जन कँडेलले सोही स्पर्धामा कांस्य पदक हात पारेका थिए । एसियाका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा नेपालले दुई वटा पदक जित्नुलाई ठूलो उपलब्धि मानिन्छ ।