अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) काे दिन पाँचथरस्थित उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट पश्चिम बैतडीको झुलाघाटसम्मकाे एक महिना लामाे १८०० किमी मध्यपहाडी लाेकमार्ग साइकल यात्रा अभियान चिवाभञ्ज्याङबाट थालनी भएकाे छ।
उक्त टाेली पुस १८ गते फिदिममा आईपुगेपछि फिदिमस्थित विद्या वरदान स्कुलका करिब २५० विद्यार्थीहरुलाई उक्त टाेलीका प्रा.डा. सुमन राज ताम्राकारले पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सर विषय माथि प्रस्तुति दिए।
निकै अन्तरक्रियात्मक रहेकाे उक्त क्यान्सर सम्बन्धी स्वास्थ्य चेतना कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए। उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल गजेन्द्र माबाे, ईन्चार्ज अनाेज भट्टराई, नेपाल पत्रकार महासंघ, फिदिम शाखाका सभापति भीम बास्काेटा, स्कुलका शिक्षक शिक्षिकाहरुकाे उपस्थिति थियो ।
साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालकाे सहकार्यमा संचालन भईरहेकाे उक्त साइकल यात्रा अभियान पुस १९ गते तेह्रथुमको चुहानडाँडामा आईपुग्दा ग्रामीण महिला जागरण समूहका करिब ५० जना महिला दिदीबहिनीहरुलाई पनि प्रा. डा. ताम्राकारले पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सर विषयमा चेतनामूलक सन्देश दिए।
प्रा. डा. ताम्राकारले त्यस कार्यक्रममा उपस्थित महिलाहरुलाई पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सरबाट बच्न क्रमशः पाठेघरकाे मुखकाे पानीकाे जाँच र म्यामाेग्राम गराउनुपर्नेमा जाेड दिए। चुहानडाँडास्थित काजीमान कन्दङवा पार्कमा संचालित उक्त कार्यक्रम निकै प्रभावकारी साबित भयाे ।